पाँच हजार मिटरमा एपीएफका पार्की र कोजुलाई स्वर्ण

इटहरी,पुस १० । पुर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर दौडमा पुरुषतर्फ एपीएफका गोपिचन्द्र पार्की र महिलातर्फ एपीएफकै कान्छीमाया कोजुले स्वर्ण जितेका छन् ।

इटहरीस्थित इटहरी रंगशालामा आज भएको पुरुषको ५ हजार मिटरमा निर्धारित दुरी १५ मिनेट २६ दशमलब १० सेकेन्डमा पुरा गर्दै गोपिचन्द्रले स्वर्ण जिते । गोपीले त्रिभुवन आर्मी तथा भारतमा सम्पन्न १२ औ साग गेम्सको रजत बिजेता हरिकुमार रिमाललाई पछि पारे ।रजत जितेका रिमालले १५ मिनेट २६ दशमलब ६० सेकेन्डमा दुरी पुरा गरे । पुरुष ५ हजार मिटरमा नेपाल पुलिस क्लबका भूमिराज राईले निर्धारित दुरी १५ मिनेट ३० दशमलब ४० सेकेन्डमा पुरा गर्दै कास्य जिते ।

महिलातर्फको ५ हजार मिटर दौडमा एपीएफकी कान्छीमाया कोजुले निर्धारित दुरी १८ मिनेट १३ दशमलब ४० सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन् । रजत जितेकी आर्मीकी सानुमाया कार्कीले निर्धारित दुरी १८ मिनेट ३३ दशमलब ३४ सेकेन्डमा पुरा गरे । छैटौ राष्ट्रिय खेलकुदमा स्वर्ण बिजेता आर्मीकी बिश्व रुपा बुढाले निर्धारित दुरी १८ मिनेट ३७ दशमलब ०४ सेकेन्डमा पुरा गर्दै कास्य जितिन ।


 

Share your thoughts: