एथलेटिक्सतर्फ आर्मीलाई २२ स्वर्ण, सुनार र लाम्गादे उत्कृष्ट खेलाडी

इटहरी,पुस १२ – पूर्वान्चलमा जारी सातौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स तर्फको स्पर्धा आजबाट सकिएको छ । इटहरीरंगशालामा सकिएको एथलेटिक्स स्पर्धामा विभागीय टोलि नेपाल आर्मी क्लबले प्रभुत्व जमाएको छ । एथलेटिक्सको ३६ विधामध्ये आर्मीले २३ स्वर्ण पदक जित्दै आफ्नो प्रभुत्व कायम राखेको हो । त्यस्तै एपीएफले ५ स्वर्ण जित्दा पुलिसले ४ स्वर्णमा कब्जा जमायो । यस्तै मध्य पश्चिमाञ्चलले दुई स्वर्ण जित्यो ।

एथलेटिक्समा पुरुषमा मध्य पश्चिमाञ्चलका यामसजन सुनार र महिलातर्फ पुलिसकी चन्द्रकला लाम्गादे उत्कृष्ट खेलाडी चुनिए  । सुनारले १ सय र दुई सय मिटरमा स्वर्ण जितेका थिए भने लाम्गादेले महिला सटपुट,ज्याभ्लीङ् थ्रोमा राष्ट्रिय किर्तिमान सहित स्वर्ण जितेकी थिइन् ।

१० हजार मिटरमा पार्की र कोजुलाई स्वर्ण

१० हजार मिटर दौडमा पुरुषतर्फ  एपीएफ क्लबका गोपिचन्द्र पार्की र महिलामा कान्छीमाया कोजुले स्वर्ण पदक जितेका छन् ।

इटहरीस्थित इटहरी रंगशालामा मंगलबार भएको खेलमा पुरुषतर्फ निर्धा्रित दुरी ३१ मिनेट ४९ दशमलब ०५ सेकेन्डको समय निकाल्दै पार्कीले स्वर्ण जितेका हुन् । पार्कीले यसअघि ५ हजार मिटरमा पनि स्वर्ण जितेका थिए । यस स्पर्धामा आर्मीका कृष्ण बस्नेत ३१ मिनेट ४४ दशमलब ०५ सेकेन्डका साथ रजत र आर्मीकै हरि कुमार रिमालले ३१ मिनेट ५९ दशमलब ८४ सेकेन्डका साथ कास्य जिते ।

महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले स्वर्ण जितिन् ।  ५ हजारमा पनि स्वर्ण जितेकी कोजुले निर्धा्रित दुरी ३७ मिनेट १६ दशमलब ५ सेकेन्डमा पुरा गरिन् । नेपाल आर्मीकी बिश्व रुपा बुढाले ३८ मिनेट ३६ दशमलब ६० सेकेन्डको समय निकाल्दै रजत जितिन् । त्यस्तै आर्मीकी लक्ष्मी पाण्डेले ३९ मिनेट ३२ दशमलब ५५ सेकेन्डको समय निकाल्दै कास्य हात परिन ।


४ सय मिटरमा सोम र संगीतालाई स्वर्ण

एथलेटिक्सको ४ सय मिटर दौडमा आर्मीका सोम बहादुर कुमाल र संगीता मेचेले स्वर्ण जितेका छन् । आज भएको दौडमा पुरुषतर्फ कुमाल र महिलामा मेचेले स्वर्ण जितेका हुन् ।

इटहरी रंगशालामा भएको दौडमा कुमालले निर्धा्रित दुरी ४९ दशमलब ६८ सेकेन्डमा दौड पुरा गर्दै स्वर्ण जितेका हुन् । ४ सय दौडमा आर्मीकै हिमाल केसीले ५१ दशमलब ६८ सेकेन्डको समय निकाल्दै रजत जिते । त्यस्तै कास्य जितेका एपीएफका पार्कीले ५२ दशमलब ५३ सेकेन्डमा दौड पुरा गरे ।

महिलातर्फ संगीताले निर्धा्रित दुरी १ मिनेट ०२ दशमलब ६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् ।यस स्पर्धामा आर्मीकै कृष्णा चौधरीले १ मिनेट ०४ दशमलब ६० सेकेन्डको समय निकाल्दै रजत जितिन् । कास्य जितेकी आर्मीका भागीरथी कुमारी थारुले १ मिनेट ०५ दशमलब ३० सेकेन्डको समय निकालिन् ।

४ सय मिटर पुरुष हडल्समा आर्मीका रामलाई स्वर्ण

एथलेटिक्सकै पुरुष ४ सय मिटर हडल्समा आर्मीले स्वर्ण पदक जितेको छ । इटहरी रंगशालामा भएको खेलमा आर्मीका राम प्रसाद थारुले निर्धा्रित दूरी ४९ दशमलब ६८ सेकेण्डका साथ स्वर्ण पदक जितेका हुन् ।

यसैगरी आर्मीका बिशेष महतोले १ मिनेट ०१ दशमलब २५ सेकेण्डका साथ रजत पदक जिते । त्यस्तै मध्यपश्चिमाञ्चलका रामजन अलि सलमानीले १ मिनेट ०२ दशमलब ४८ सेकेण्डका साथ कास्य पदक जिते ।

४ गुणा सय मिटर रिलेमा आर्मीलाई स्वर्ण

एथलेटिक्सको ४ गुणा सय मिटर रिलेको पुरुष र महिला दुवै स्पर्धामा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ ।

इटहरी रंगशालामा भएको पुरुषतर्फ निर्धा्रित दुरी ४३ दशमलब ८६ सेकेन्डमा पुरा गर्दै आर्मीले स्वर्ण जितेको हो । रजत जितेको मध्यमाञ्चलले ४४ दशमलब ७६ सेकेन्डको समय खर्चिए । त्यस्तै कास्य जितेका एपीएफले ४४ दशमलब ८५ सेकेन्डको दुरी तय गरे ।

महिलातर्फ आर्मीले ५२ दशमलब २० सेकेन्डको दुरी पुरा गर्दै स्वर्ण जिते । रजत जितेका मध्य पश्चिमाञ्चलले ५३ दशमलब ८३ समय निकाल्दा एपीएफले ५३ दशमलब ८८ सेकेन्डको दुरी तय गर्दै कास्य जित्यो ।

-बाह्रखरी

Share your thoughts: