ओलम्पिकमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने धावक हरिकुमारको लक्ष्य

काठमाडौं, साउन १२  । काठमाडौं : 'सुरुमा फुटबल खेल्थेँ, फुटबल खेल्दा धेरै दौडने भएकाले नै पछि एथ्लेटिक्सको खेलाडी बनेँ। अहिलेका चर्चित फुटबल खेलाडी नवयुग श्रेष्ठभन्दा पहिले नै मैले आर्मीमा फुटबल खेलेको हुँ। तर पछि दौडतिर लागेँ।' भेटको सुरुमै ब्राजिलमा ओलम्पिक खेल्न जान लागेका नेपाली सेनाका धावक हरिकुमार रिमाल आफ्नो पृष्ठभूमि खोतले।
 
आगामी अगस्ट ५ देखि २१ सम्म ब्राजिलमा हुने ३१ औं ग्रीष्मकालीन ओलम्पिकमा रिमालले ५ हजार मिटर दौडमा नेपालको प्रतिनिधित्व गर्दैछन्।
 
उनीसँगै नेपालबाट ५ खेलका ७ खेलाडीले रियो दि जेनेरियोमा हुने खेलकुदको कुम्भ मेलामा प्रतिस्पर्धा गर्दैछन्।
 
रिमालको विचारमा हरेक खेलाडीको अन्तिम सपना नै ओलम्पिक खेल्नु हो। त्यसैले पनि ओलम्पिकमा सहभागिता जनाउन पाउँदा उनी उत्साही छन्।
 
'पहिलो पटक ओलम्पिक खेल्न जाँदै छु। एउटा खेलाडीको अन्तिम लक्ष्य नै ओलम्पिक हो,' उनी सुनाउँछन्, 'जब कोही खेलकुदमा आउँछ। खेल्छ र बुझ्न थाल्छ- उसको अन्तिम बिन्दु नै ओलम्पिक हो। ओलम्पिकपछि हरेक खेलाडीको सपना पूरा हुन्छ।'
 
नेपालबाट ओलम्पिकमा खेल्न पाउनु नै ठूलो कुरा मान्छन् उनी। हाम्रो जस्तो देशबाट ओलम्पिकमा जित्नेभन्दा पनि सहभागिता जनाउनु नै ठूलो कुरा हो।
 
'ओलम्पिक खेल्न जाँदैगर्दा जती खुसी छु, कर्तव्य पनि त्यति नै छ, 'रिमाल थप्छन्, 'त्योभन्दा बढी त त्यहाँ गएर खेल्न बाँकी छ।' त्यसैले पनि उनीहरु मेहनतका साथ जुटिरहेका छन्। 'रातदिन नभनी खटेका छौं। सकेसम्म त्यहाँ गएर राम्रो प्रदर्शन गरौं र राष्ट्रको नाम राखौँ भन्ने नै हो,' उनी भन्छन्।
 
सानो देशबाट सहभागिता हुँदा नेपालीहरु पनि खेल्न सक्षम छन् भन्ने सन्देश दिन सकिनेमा उनी विश्वस्त छन्। तर, आफूहरु सहभागितामै सीमित हुनुपर्ने गुनासो पनि छ उनमा। 'हामी सहभागितामा मात्र सीमित हुन्छौं, पदकसम्म पुग्न गाह्रो छ, राष्ट्रिय कीर्तिमान तोड्नु नै हाम्रो लागि ठूलो उपलब्धि हुनेछ,' उनी चुनौती देख्छन्।
 
मुख्य लक्ष्य राष्ट्रिय कीर्तिमानमा सुधार

रिमालसँगै ओलम्पिकमा जाने धेरै नेपाली खेलाडीको मुख्य लक्ष्य भनेकै राष्ट्रिय रेकर्डमा सुधार गर्नु हुनेछ। 'त्यसका लागि हामीले गर्न सक्ने र गर्नुपर्ने ठाँउबाट राम्रो तयारी गरिरहेका छौं,' १२ औं सागमा कास्यपदक विजेता रिमाल भन्छन्0, 'खेलका लागि गर्नुपर्ने पर्याप्त तयारी भने हुन सकेको छैन।'
 
ब्राजिलको हावापानीमा घुलमिल हुनुपर्ने पनि उनका लागि अर्को चुनौती हो। 'हामी प्रतिस्पर्धा हुनु २/३ दिनअगाडि ब्राजिल पुग्छौं,' उनी भन्छन्, 'नयाँ ठाउँमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने त्यहाँको कन्डिसनमा नै भर पर्छ।'
 
अन्य देशबाट छनोट भएर आएका खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने उनी ठम्याइ छ। अन्य देशको तुलनामा आफूहरुको तयारी कमजोर रहेको उनी स्विकार्छन्। भन्छन्, 'अरु देशसँग तुलना गरेर हुँदैन, स्वभाविक रुपमा हाम्रो तयारी पनि कमजोर छ।'
उनीसँगै प्रशिक्षक जाने भएकाले अझै सिक्न पाइनेमा भने उनी ढुक्क छन्। 'यसअघि पनि ओलम्पिकमा सहभागी भइसकेकाले पुष्प गुरुले आफ्नो अनुभव पनि सेयर गर्नुहुन्छ। त्यसले हामीलाई धेरै फाइदा पुर्‍याउँछ।'
 
किन छनोट हुन सक्दैनन् नेपाली खेलाडी?
ओलम्पिकका सबै २०७ सदस्य राष्ट्रले नै सहभागिता जनाउँदैछन्। तर सबै राष्ट्रका खेलाडीले छनोट चरण पार गर्न सक्दैनन्। छनोट हुन नसक्ने खेलाडीले वाइल्ड कार्ड र युनिभर्सल प्लेसेस (अनिवार्य कोटा) मार्फत ओलम्पिकमा सहभागिता जनाउँछ।

'ओलम्पिकमा नेपाली खेलाडीले छनोट चरण पार गर्न नसक्नु खेलाडीको मात्रै कमजोरी होइन,' रिमालको बुझाइ छ।

अहिलेसम्म नेपालबाट तेक्वान्दोका संगीना वैद्य र दीपक विस्टले मात्र छनोट चरण पार गर्दै ओलम्पिक खेले पनि बाँकी खेलाडी वाइल्ड कार्ड र अनिवार्य कोटामा भर पर्नुपर्ने अवस्था छ।

पौडी र एथ्लेटिक्सको हकमा भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आफ्ना सदस्य राष्ट्रलाई दुई-दुई खेलाडी अनिवार्य कोटा मार्फत सहभागिता गराउने प्रावधान राखेको छ। त्यसैले गर्दा पनि नेपालबाट यी दुई खेलमा पुरुष र महिला खेलाडीले सहभागिता जनाउने अवसर पाएका छन्।

एथ्लेटिक्समा रिमालसँगै सरस्वती भट्टराई र पौडीमा शिरीष गुरुङ र गौरिका सिंहले अनिवार्य कोटामा सहभागिता जनाउँदै छन्।

आखिर किन नेपाली खेलाडीलाई छनोट हुन समेत गाह्रो छ त?

'नेपालमा अझै पनि धेरै कमजोरी छ। यसलाई सुधार्नुपर्छ,' रिमालको बुझाइ छ, 'हामी जहाको तहीँ हुन्छौं। भौतिक पुर्वाधारकै कमी छ। रंगशाला भत्केको छ। अभ्यास गर्ने गतिलो ट्रयाक छैन। कबर्ड हलको पनि अभाव छ।'
 
प्राविधिक रुपमा पनि आफुहरु तल रहेको उनको भनाइ छ। 'अझै हामीमा प्राविधिक ज्ञानको कमी छ,' उनी भन्छन्, 'कोचहरुले पनि पुरानै तलिकाले सिकाउँछन्। कोचले जे सिकायो हामीले त्यही सिक्ने न हो।'

प्राविधिक रुपमा बुझ्ने नयाँ कोच भित्र्याउनु जरुरी रहेको उनको बुझाइ छ।
 
ओलम्पिक लक्ष्य

यो अवस्थासम्म आइपुग्न रिमालले धेरै पसिना चुहाएका छन्। उनी जति दौडेका छन्, त्यति नै परिश्रमको पसिना बगाएका छन् ओलम्पिकसम्म पुग्न।

अरुले जस्तै उनले पनि खेल खेल्दै जाँदा आफ्नो उदेश्य नै ओलम्पिक खेल्नु भन्ने सोचेका थिए। 'एक दिन ओलम्पिक खेल्छु भन्ने थियो जुन

अहिले आएर पूरा हुँदैछ,' उनी खुसी छन्, 'राष्ट्रको लागि खेल्न पाउनु आफैंमा गर्वको कुरा हो। राष्ट्रको लागि मैले पनि केही गरेँछु जस्तो लागेको छ।'

सन् २००४ को एथेन्स ओलम्पिकपछि नै उनी पूर्णत खेलकुदमा लागेका हुन्। सुरुमा उनी सबै खेल खेल्थे। एथ्लेटिक्स खेलाडी राजेन्द्र भण्डारी र अर्जुन बस्नेतले ओलम्पिकमा दौडेको देखेपछि उनमा दौडने हुटहुटी जागेको थियो। 'त्यतिखेर मैले पनि ओलम्पिक खेल्न पाए हुन्थ्यो जस्तो लागेको थियो,' उनी सम्झिन्छन्, 'सपना थियो अहिले आएर साँच्चै पूरा भएको छ।'
 
दौडमा भन्दा फुटबलमा अगाडि
सानैदेखि उनमा फुटबलको विशेष रुचि थियो। विद्यालय स्तरमा उनी फुटबलसँगै भलिबल, दौड लगायतका सबैखाले प्रतियोगितामा भाग लिन्थे। 'म सानोमा अलराउन्डर थिएँ। हुन त मलाई फुटबलमै बढी रुचि थियो,' उनी भन्छन्, 'फुटबल खेल्दा रनिङ र प्लेइङ स्किल मुख्य तत्व हुन्छ। फुटबल खेल्दा म धेरै दौडन्थेँ। त्यसैले पनि दौडका हरेर प्रतिस्पर्धामा भाग लिन्थेँ र जित्थेँ पनि।'
 
एक पटक एनआरएनले आयोजना गरेको काठमाडौं हाफ म्याराथनमा राम्रो पोजिसन ल्याएपछि भने उनको ध्यन दौडतर्फ मोडियो। त्यसपछि निरन्तर ट्रेनिङहरु गर्न थाले।  आत्मबल बढ्दै गयो। 'नेसनल च्याम्पियनसिपहरुमा भाग लिन थालेँ,' उनले सुनाए, '५ हजार मिटर, १० हजार मिटरमा च्याम्पियन बनेँ।'
 
नेपाली खेलाडी धेरै तल
'नेपालीहरु खानलाउन, हातमुख जोर्न मै तल्लीन हुन्छन्, खेल्न त टाढाको कुरा,' नेपाली खेलाडीको स्थितिलाई रिमाल यसरी विश्लेषण गर्छन्, 'खेल्नलाई आर्थिक स्रोत, साधन र पँहुचको कमी छ। त्यसैले हाम्रो अस्थामा सुधार हुन सकेको छैन।'
 
विभागीय क्लबहरुको हकमा भने अलि फरक छ। एक दशकअघि सेनामा आबद्ध भएका उनी भन्छन्, 'त्यहाँका खेलाडीहरुको काम भनेकै खेल्ने, ट्रेनिङ गर्ने, डाइट खाने, आराम गर्ने हो। तर सबैले नेपालमा यस्तो सुविधा पाउँदैनन्।'
 
राजधानीबाहिरका खेलाडीहरुको अवस्था अझै नाजुक रहेको देखेका छन् उनले। अहिले खेल्यो बेलुका के खाने भन्ने समस्याले उनीहरुलाई सताउँछ। खेल्न बाहेक उनीहरुले काम पनि गर्नुपर्ने बाध्यता छ। 'उनीहरुलाई ट्रेनिङ कहाँ र कसरी गर्ने भन्ने नै थाहा छैन,' उनी कमजोरी औंल्याउँछन्, 'त्यसैले कति खेलाडीको सपना प्रतियोगिता सहभागितामै सीमित हुन्छ, कतिको सपना बिलाएर जान्छ।'

-गोविन्दराज नेपाल/पहिलोपोस्ट

Share your thoughts: