ब्याडमिन्टन टोली फर्कियो

काठमाडौं, कात्तिक ९  ।   पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजका पदक विजेता भाइ रत्नजित तामाङ र दिदी नङशलसहितको ७ सदस्यीय नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको मिक्स डबल्स फाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित नेपाली ब्याडमिन्टनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण दिलाएका थिए ।

यसअघि दुई भिन्नभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए । त्यो नै ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबै भन्दा ठूलो उपलब्धी थियो ।

टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष सुवास श्रेष्ठ र पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरेका थिए । स्वागतपछि टोलीलाई गाडीमा राखि नगरपरिक्रमा समेत गराइएको थियो । नगरपरिक्रमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हाता आएर कार्यक्रममा परिणत भएको थियो । नेपाली टोलीमा किरण थापाले प्रशिक्षक तथा ब्याडमिन्टन संघका सदस्य राजु थापाले व्यवस्थापकको जिम्मेवारी सम्हालेका थिए ।

Share your thoughts: