कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टनको उपाधि रत्नजित र नङ्गशलादेवीलाई

काठमाडौं,माघ २० । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नङ्गशलादेवी तामाङले तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।  हल्चोकस्थित एपीएफ क्लबको कभर्डहलमा बिहिबार भएको पुरुष एकलको फाइनलमा आफ्नै क्लवका नविन श्रेष्ठलाई २१–१७, २१–९ ले पराजित गर्दै रत्नजितले उपाधि जितेका हुन् । उपाधिसंगै रत्नजितले नगद ६० हजार प्राप्त गरे । महिला एकलतर्फको फाइनलमा आर्मीकी नङ्गसलादेवी तामाङले नेपाल एपीएफ क्लवकी शिक्षा श्रेष्ठलाई २१–१७, २१–१७ ले पराजित गर्दै उपाधि जितेकी हुन् । महिला एकलतर्फ पहिलो भएकी नङ्गसलादेवीले नगद ५० हजार रुपैयाँ हात पारिन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फको उपाधि आर्मी क्लवका रत्नजित तामाङ  र नविन श्रेष्ठको जोडीले हात पारे । तामाङ  र श्रेष्ठको जोडीले नेपाल एपीएफ क्लवका विजित थापामगर र विशाल प्रधानको जोडीलाई २१–१८, २१–१४ ले पराजित गरे । पुरुष युगलतर्फको उपाधिसंगै दुबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । 

यस्तै ‘सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको पुरुष एकलतर्फको समरक्षक भूषण बज्राचार्य तथा महिला एकलतर्फको उपाधि मायांका राणाले जितेका छन् । उपाधिसंगै दुबैले  जनही ६० हजार रुपैयाँ प्राप्त गरे । विजयी खेलाडीहरुलाई     सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नगद पुरस्कार, पदक तथा ट्रफि प्रदान गरेका थिए ।  

Share your thoughts: