७ ब्याडमिन्टन खेलाडी अष्ट्रेलिया जाने

काठमाडौं,जेठ ४ - ‘सटल टाइम कनेक्ट’ कार्यक्रम अन्तर्गत खेलकुद सास्कृतिक अनुभव आदानप्रदान गर्न विभिन्न बिद्यालयका ७ ब्याडमिन्टन खेलाडी अष्ट्रेलिया जाने भएका छन् । ‘सटल टाइम’ कार्यक्रमबाट छनोट भएका बिभिन्न बिद्यालयका ७ बिद्यार्थीहरु शुक्रबार अष्ट्रेलियाको गोल्डकोस्टतर्फ जाने भएका छन् ।

सटल टाइम कनेक्टमा छनोट हुदैँ अष्ट्रेलिया जाने नेपाली टोलीमा २ छात्र र पाँच छात्रा रहेका छन् । अष्ट्रेलिया जाने खेलाडीमा वागेश्वरी हाईरसेकेण्डरी स्कुलकी प्रशिद्दी झा, बासु हाईरसेकेण्डरीकी रश्मी महर्जन, जन सेवा हाईरसेकेण्डरीकी विजय मार्क, रत्न राज्यलक्ष्मी हाईरसेकेण्डरीका सुजन खड्का र कालिकाशरण हाईर सेकेण्डरीकी शैलिषा शाही रहेकी छिन्  । यस्तै सिताराम हाईरसेकेण्डरीका अम्बर बहादुर मगर र बाल विकास हाईरसेकेण्डरी स्कुलकी युनिका निरौला अष्ट्रेलिया जाने छन् । उनीहरुसँग सटल टाइम कनेक्टका कोअर्डिनेटर दिपक थापा, दुई शिक्षक मनोज आचार्य र रामलक्ष्मी कोजु र दुई अविभाबक पनि अष्ट्रेलिया जाने छन् ।

सटल टाइमका लागि नेपाली खेलाडीहरु विभिन्न ४० बिद्यालयबाट छनोट गरी ७ बिद्यालयका खेलाडी छनोट गरिएको सटल टाइम कनेक्ट नेपालका कोअर्डिनेटर दिपक थापाले जानकारी दिए । उनीहरु नेपालमा ६ महिना अघिबाट सुरु यस कार्यक्रममा सहभागी रहेका बिद्यालयबाट उत्कृष्ट चुनियर त्यसतर्फ जान लागेका हुन् ।

यस कार्यक्रमका लागि छनोट भएका खेलाडीहरुले जेठ १५ गतेसम्म अष्ट्रेलियाको बिभिन्न ७ बिद्यालयको भ्रमण गर्ने छन् । त्यसक्रममा नेपालका बिद्यार्थीहरुले त्यहाँका मित सात बिद्यालयसँग खेलकुद, सस्कृति र शिक्षाबारे अन्तरक्रिया गर्ने छन् । त्यहाँ रहदा नेपाली बिद्यार्थीहरुले नेपालमा पढ्दै गरेको तहअनुसार त्यहाको बिद्यालयको कक्षामा सहभागी र स्कुलको विविध कार्यक्रममा समेत सहभागी हुनेछन् । यस्तै नेपालबाट गएका बिद्यार्थीहरु त्यहाँकै बिद्यालयमा पढ्दै गरेका छात्राछात्रसंगै उनीहरुकै घरमा तिन दिनसम्म बस्ने छन् ।

त्यस्तै नेपाली टोलीले गोल्डकोस्टको क्यारेरा स्पोर्ट्स कम्प्लेक्समा ब्याटमिन्टन खेलको प्रस्तुति र उक्त स्थानमा आयोजना हुने सुदिरमान कप अन्तराष्ट्रिय ब्याटमिन्टनको उद्घाटन र समापनमा बिशेष नृत्य प्रस्तुति दिने छन् ।

बिद्यालयस्तरबाटै ब्याटमिन्टन खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर विश्व व्याडमिन्टन महासंघ, अस्ट्रेलियाको व्याडमिन्टन महासंघ, व्याडमिन्टन एसिया, स्पोर्ट म्याटरको सहयोगमा नेपाल व्याडमिन्टन एसोसिएसनले नेपालका विभिन्न जिल्लाको ४० बढी बिद्यालयमा  सटल टाइम  कार्यक्रमको आयोजना गरिरहेको छ ।

Share your thoughts: