ब्याडमिन्टन खेलाडीको वरीयता सार्वजनिक, पुरुषमा रत्नजित र नङशल शीर्ष स्थानमा

काठमाडौं ।  नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । संघले आइतबार सार्वजनिक गरेको नयाँ बरियताको शीर्ष आठमा विभागीय टोलीका खेलाडीको बाहुल्य रहेको छ । पुरुषमा नेपाल आर्मीका रत्नजित तामाङ १७४०० अंकसाथ शीर्ष स्थानमा छन् भने महिलामा रत्नकै दिदी आर्मीकी नङशल तामाङ ११६४० अंकसहित पहिलो स्थानमा छिन् । पुरुषमा नेपाल प्रहरी क्लबका दीपेश धामी (१२६३५), भोजपुरका विकास श्रेष्ठ (१२०५०), नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकार (११६४५), प्रहरीका विष्णु कटुवाल (१०५१५), एपीएफका सुदीप सेढाईं (९३२५), कैलालीका सन्जिव खड्का (८६५५) र प्रहरीका दीपक बोहरा (८२६५) क्रमशः दोश्रोदेखि आठौं स्थानमा छन् ।

त्यस्तै महिलामा आर्मीकात्रय अमिता गिरी (६६७०) दोश्रो, सरादेवी तामाङ (६१४०) तेश्रो र अनुमाया राई (४८०५) चौथो, एपीएफकी शिक्षा श्रेष्ठ (४६५०) पाँचौं, कास्कीकी पुनम गुरुङ (४१५०) छैटौं, एपीएफकी शोभा गौचन  (३७४५) सातौं तथा जेस्त ब्याडमिन्टन क्लबकी सुनैना मुखियाँ (३४५५) आठौं स्थानमा छन् ।

राष्ट्रिय प्रतियोगिता तथा ब्याडमिन्टन संघले मान्यता दिएको ‘क’ श्रेणीको प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडीको वरीयता निर्धारण गरिएको संघका सचिव नवीनविक्रम शाहले जानकारी गराए । ३–३ महिनाको अन्तरालमा शीर्ष आठ खेलाडीको वरीयता निर्धारण गर्ने संघको नीति अनुसार खेलाडीको वरीयता निर्धारण गरिएको सचिव शाहले जनाएका छन् ।

Share your thoughts: