एचएचसीएलाई प्याब्सन बास्केटबल उपाधि

काठमाडौं, साउन ६ । हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले सातौं प्याब्सन विद्यालयस्तरीय यु–१६ छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको रोमाञ्चक फाइनलमा एचएचसीएले रेडिअन्टलाई ५१–५० को साँघुरो अन्तरले पराजित ग¥यो । एचएचसीएको जितमा विशाल राईले सान्दार प्रदर्शन गर्दै ३८ अंक योगदान गरे ।

एचएचसीएले खेल सकिन ३ सेकेन्ड बाँकी छँदा उपाधि सुनिश्चित गरेको थियो । त्यसबेला एचएचसीए ४९–५० ले पछि थियो । त्यो समयमा एचएचसीएले ‘टु फ्रि सट’ पायो र विशालले लगातार दुई अंक स्कोर गर्दै जित सुनिश्चित गरेका थिए ।
पहिलो र तेश्रो क्वाटरमा एचएचसीएले जितको आधार खडा गरेको थियो । एचएचसीएले पहिलोमा १३–८ र तेश्रोमा १५–१३ को अग्रता बनाएको थियो । रेडिअन्टले दोश्रोमा १५–१३ र चौथोमा १४–१० को अग्रता हासिल गरे पनि जित हात पार्न सकेन ।

काठमाडौं प्याब्सनद्वारा आयोजित प्रतियोगितामा ओडिसीले तेश्रो स्थानमा चित्त बुझायो । ओडिसीले एन्जल्स हार्टलाई ४९–३५ ले हरायो । ओडिसीका प्रकाश श्रेष्ठले १७ अंक जोडे ।
प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ता विशाल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । रेडिअन्टका राजन दाहाल उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । प्रतियोगिताभर १ सय ९२ स्कोर गरेका ओडिसीका सागर लामा सर्वाधिक स्कोरकर्ता बने ।
विजेतालाई राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, केन्द्रीय प्याब्सनका वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे, काठमाडौं प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङ, प्रतियोगिता संयोजक अनन्त कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा ३२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Share your thoughts: