श्रीलंका विश्वकपमा सिधै छनोट हुन असफल, भारत क्लिन स्विपतर्फ

एजेन्सी,भदौं १६ । घरेलु टोली श्रीलंकाविरुद्धको पाँच खेलको एक दिवसिय सिरिजमा भारत क्लिन स्विपतर्फ अघि बढेको छ । आइतबार नै सिरिज आफ्नो बनाईसकेको भारत बिहीबार राति भएको चौथो एक दिवसीयमा श्रीलंकामाथि १६८ रनको जित निकाल्दै क्लिन स्विपतर्फ अघि बढेको हो । कोलम्बोमा भएको चौथो खेलमा जित निकालेसँगै भारतले पाँच खेलको सिरिज ४–० ले आफ्नो बनाएको छ । अब भारतले आइतबार हुने अन्तिम तथा पाँचौ एकदिवसीय जिते सिरिजमा क्लिन स्विप गर्नेछ । यसअघि भारतले घरेलु टोलिबिरुद्धको टेष्ट सिरिज पनि क्लिन स्विप गरेको थियो ।

रनासिंगे प्रेमादासा क्रिकेट स्टेडियममा भारतले दिएको ३७६ रनको लक्ष्य पछ्याएको श्रीलंका ४२ ओभर ४ बलमा अलआउट हुँदै २०७ रनमा समेटियो । योसँगै श्रीलंकाले आइसीसी विश्वकप क्रिकेटमा सिधै छनोट हुने  मौका गुमाएको छ । इंग्ल्यान्डमा आगामी सन् २०१९ मा हुने विश्वकपमा छनोट हुन् श्रीलंकालाई भारतविरुद्धको एक दिवसीय सिरिजमध्ये दुई खेल जित्नुपर्ने थियो ।  तर, चौथो खेलको हारले श्रीलंकाको त्यो सम्भावना सकिएको हो ।


अब श्रीलंकाले विश्वकपको लागि छनोट खेल खेल्नुपर्ने हुन्छ । यदि वेष्ट इन्डिजले आफुले खेलेको खेल गुमाएमा भने श्रीलंकाले विश्वकप छनोट खेल्नुपर्दैन ।  विश्वकपको लागि एक दिवसीय क्रिकेटमा शीर्ष ७ मा रहेको राष्ट्रहरु सिधै छनोट हुने प्रावधान रहेको छ ।

भारतले दिएको ३७६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाको लागि श्रीलंकाका एन्जेलो म्याथ्युजले ७० तथा मिलिडा सिरिवर्दानाले ३९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । श्रीलंकालाई सस्तैमा समेट्न भारतका जस्प्रित बुमराह, हार्दिक पाण्डय र कुलदिप यादबले समान दुइ दुइ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा मात्र ५ विकेट गुमाएर ३७५ रनको उच्च योगफल तयार गरेको थियो । भारतको उच्च योगफलमा कप्तान बिराट कोहली र रोहित शर्माले शतकीय पारी खेले ।  कप्तान  कोहलीले ९६ बलमा १७ चौका र २ छक्कासहित १३१ रनको योगदान दिदा शर्माले ८८ बलमा ११ चौका र ३ छक्कासहित १०४ रन बनाए । मात्र ६ रनको स्कोरमा ओपनर शिखर धवन गुमाएको भारतको लागि कोहली र शर्माले दोस्रो विकेटको लागि २१९ रनको साझेदारी गरेका थिए । यस्तै भारतका लागि हार्दिक पाण्डय ५० रनमा अविजित रहदा महेन्द्र सिंह धोनी पनि ४९ रनमा अविजित रहे । श्रीलंकाका एन्जेलो म्याथ्युजले २ विकेट लिए ।

Share your thoughts: