नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेल मेलापुर रिक्रएन क्लबसँग खेल्दै

काठमाडौं – भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेल मेलापुर रिक्रएन क्लबसँग खेल्दैछ। बिहीबार चेन्नइको एसआरएम युनिभर्सिटी क्रिकेट मैदानमा दुई टिमबीच खेल हुनेछ। चेन्नइको मेलापुर क्लब खेलकुद मार्फत सामाजिक काम गर्ने संस्थाको रुपमा चिनिन्छ। 

नेपालले मंगलबार पहिलो अभ्यास खेलमा तामिलनाडु प्रिमियर लिग खेल्ने टिम डिन्डिगुल ड्रागनलाई १ सय ५३ रनले पराजित गरेको थियो। नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको डिन्डिगुल ३५‍.३ ओभरमा ६३ रनमा अलआउट भयो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६६ रन तथा २ विकेटको योगदान दिएका थिए।  

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङ विरुद्ध खेलको तयारीका लागि नेपाली टिम आइतबार भारतको चेन्नइमा गएको थियो। नेपाली टिम दशैँको फूलपातीमा नेपाल फर्कनेछ। डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा प्रतिस्पर्धा हुँदैछ। डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ।  नेपालका लागि शीर्ष ४ मा रहेर एकदिवसीय विश्वकप छनोट खेल्न हङकङसँगको खेल महत्वपूर्ण छ।

 

Share your thoughts: