दोस्रो अभ्यास खेलमा नेपाल ५२ रनले विजयी,ज्ञानेन्द्रको शतक

काठमाडौं,असोज ५ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको छैठौं चरणको खेलको तयारीमा भारतको चेन्नाइमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि जित हात परेको छ । ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेसँगे नेपालले भारतको चेन्नाइमा रहेको स्थानीय मेलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको हो । नेपालले दिएको २ सय ५२ रनको लक्ष्य पछ्याएको मेलापुरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रनमात्र बनाउन सक्यो।

मेलापुरलाई कम स्कोरमा रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरी, सागर पुन र सुसन भारीले समान २–२ विकेट लिए। १ विकेट सन्दीप लामिछानेले हात पारे। मेलापुरका लागि सुदन सञ्जीवले ३७ रनको योगदान गरे। उनलाई दीपेन्द्रसिंह ‌ऐरीले रनआउटको सिकार बनाए। यस्तै मोहमद आसिफले ५४ बल खेलेर ३३ रन बटुले। एभीआर रथना ३५ रनमा अविजित रहे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्लको शतकीय पारीको मद्दतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनाएको थियो। ज्ञानेन्द्र सय रन बनाउदा रिटायर्ड हर्ट भएका थिए। १ सय २३ बलको सामना गरेका उनले १३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै नेपालका लागि शरद भेषवाकरले ४८, सागर पुनले २५, पारस खड्काले २२, करण केसीले २० तथा सोमपाल कामीले १६ रन जोडे। मेलापुर रिक्रियसनका गणेश मोराथी, एभीआर राथनम र एन हरिसले समान २ विकेट लिए। पहिलो अभ्यास खेलमा नेपालले मंगलबार डिन्डिगुल ड्रागन्सलाई १ सय ५३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

Share your thoughts: