नेपालको तेस्रो जित,तमिलनाडु १ सय ४७ रनले पराजित

काठमाडौं,असोज ७ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि भारतको तयारी गरिरहेका नेपालले तेस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । शनिबार भएको तेस्रो अभ्यास खेलमा नेपालले तमिलनाडु ए लाई १४७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

चेन्नईस्थित मुरुगप्पा क्रिकेट मैदानमा नेपालले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको तमिलनाडु ४५  ओभर ३ बलमा अलआउट हुँदै १६४ रनमा समेटियो ।  तमिलनाडुका आर सथ्यनारायणले ६७ रनको अर्धशतकिय पारी खेले । त्यस्तै तमिलनाडुका बर्थले २२ , डी अन्चितले १९ तथा निशान्त १३ रन बनाए । नेपालका करण केसीले ३ विकेट लिए ।  

अभ्यास खेलमा नेपालको यो लगातार तेस्रो जित हो । नेपालले मेलापुरे रिक्रियसन र डिन्डिगुल ड्रयागन्सलाई पराजित गरेको थियो । यसअघि टस जिती पहिले ब्याटिङ गरेको नेपालले शरद भेषवाकरले शतकीय पारीमा ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ११ रनको बिशाल योगफल तयार गरेको थियो । नेपालको लागि शरदले १०० रन बनाए । तेस्रो विकेटका रुपमा आकाशको बलमा क्याच आउट भएका शरदले १ सय १९ बलको सामना गर्दै ११ चौका प्रहार गरेका थिए । 

नेपालको जितमा सागर पुन र दिपेन्द्र सिंह एरीको अर्धशतक बनाए । ओपनर सागरले ९९ बलमा ७७ रन बनाए भने चौथो नम्बरमा ब्याटिङ गर्न आएर दिपेन्द्रले ७३ रन बनाए । दिपेन्द्रले बिष्फोटक ब्याटिङ गर्दै ३७ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए । 

यस्तै नेपालको उच्च स्कोरमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ले ३१ रन बनाए । कप्तान पारस खड्कालाई आराम दिएर ज्ञानेन्द्रलाई कप्तानी दिइएको थियो । नेपालका सोमपाल कामी १० रनमा अविजित रहदा किपर ब्याट्सम्यान बिनोद भण्डारीले ७ रन बनाए । तमिलनाडुका भिगनेस रावले दुई तथा आकाश, जपनित र सथ्यनारायणले समान एक एक विकेट लिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले हङकङसाग उसैको मैदानमा आगामी अक्टोबर १३ र १५ मा खेल खेल्ने छ ।  आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल छैठौं स्थानमा छ । त्यस्तै, हङकङ चौथो स्थानमा छ । नेपालले च्याम्पियनसिपको अन्तिम खेलमा युएईसाग खेल्नेछ ।

Share your thoughts: