नेपाल र हङकङबीच आइतबार हुने खेल रद्द हुने संकेत

काठमाडौं – विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आइतबार हुने दोस्रो खेल रद्द हुने सम्भावना बढेको छ। हङकङमा शनिबारदेखि सुरु भएको समुद्री आँधी (टाइफुन) आइतबार पनि जारी रहन सक्ने हङकङको मौसम विभागले जनाएको छ।  साउथ चाइना पोस्टले हङकङका मौसम विभागलाई उधृत गर्दै आँधीले आइतबार ठूलो असर पार्न सक्ने उल्लेख गरेको छ। मौसम विभागका वरिष्ठ विज्ञान अधिकृत चेङ युन चुनले चाइना पोस्टलाई टाइफुन–८ पुग्ने जानकारी दिएका छन्।

शनिबार टाइफुन १ मा छ। टाइफुन १ सामान्य अवस्था हो। मौसम विभागले राति ३ र आइतबार ८ सम्म पुग्ने अनुमान गरेको हो। टाइफुन ३ मा हङकङका पसलहरु बन्द गरिने स्थानीयबासी विनोत पुनले नेपाल लाइभलाई टेलिफोनबाट जानकारी दिए।

उनले भने, 'भोलिसम्म टाइफुन ८ पुग्ने अनुमान गरिएको छ। ३ सम्म भयो भने पनि खेल नहुने सम्भावना हुन्छ। किनकि तीव्र हावाले यहाँ काम गर्ने वातावरण हुँदैन।' पुनका अनुसार टाइफुन ८ आए हङकङ नै ठप्प हुनेछ। नेपाल र हङकङबीच आइतबार मङ कङमा दोस्रो खेल हुने तय छ। यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाललाई घरेलु टिम हङकङले ८३ रनले हराएको थियो।

Share your thoughts: