श्रीलंका विरुद्धको दोस्रो टी–२० खेलमा भारतले बनायो नयाँ रेकर्ड

एजेन्सी । भारतले शुक्रबार टी–२० अन्तर्राष्ट्रिय खेलमा बढी रन बनाउने रेकर्ड बनाएको छ। श्रीलंका विरुद्धको दोस्रो टी–२० खेलमा भारतले २ सय ६० रन बनाउँदै नयाँ रेकर्ड बनाएको हो। यसअघि भारतको टी–२० मा उच्च स्कोर २ सय ४४ रन थियो। भारतले यो स्कोर वेस्ट इन्डिजविरुद्ध बनाएको थियो। यता भारत टी–२० कै अहिलेसम्मको उच्च स्कोर बनाउनबाट ४ रनले चुक्यो। टी–२० को उच्च स्कोर अस्ट्रेलियाको नाममा छ। अस्ट्रेलियाले सन् २०१६ मा श्रीलंकाविरुद्ध २ सय ६३ रन बनाएर रेकर्ड बनाएको थियो। 

भारतका ओपनिङ ब्याट्सम्यान तथा कप्तान रोहित शर्माले टी–२० मा तीब्र शतकको रेकर्ड बराबरी गरेका छन्। उनले ३५ बलमा शतक प्रहार गरेर डेभिड मिल्लरको नाममा रहेको रेकर्ड बराबरी गरेका हुन्।  खेलमा भारतले बढी रनको ओपनिङ गरेर पनि रेकर्ड बनायो। रोहित र लोकेश राहुलले १२.४ ओभरमा १ सय ६५ रनको साझेदारी गरेर रेकर्ड बनाएका हुन्। यसअघि भारतको उच्च साझेदारी ७५ रनको थियो।  रोहितले आउट हुनुअघि १ सय १८ रन बनाए। उनले ४३ बलमा १२ चौका र १० छक्का प्रहार गरे। राहुलले ८९ रन बटुले। उनले ४९ बलमा ५ चौका र ८ छक्का प्रहार गरे। महेन्द्रसिंह धोनीले २१ बलमा समान २–२ चौका र छक्का प्रहार गरेपछि भारतले ५ विकेटको क्षतिमा २ सय ६० रन बनाएको हो। 

Share your thoughts: