दोस्रो जितसँगै इन्फरम्याटिक्स शीर्ष स्थानमा

पोखरा,भदौं २२ ।  इन्फरम्याटिक्स कलेज चिताहले पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बिहिबार भएको दोस्रो खेलमा इन्फरम्याटिक्सले आयोजक माछापुच्छ्रे क्रिकेट क्लबलाई ६ रनले पराजित गरेको हो ।

आयोजक माछापुच्छ्रेमाथिको जितसँगै इन्फरम्याटिक्स लिगको शिर्ष स्थानमा उक्लिएको छ । इन्फरम्याटिक्सले दुई खेलबाट ६ अंक जोडेको छ । दुई खेलमा एकमा जित र एकमा हार बेहोरेर ३ अंक जोडेको माछापुच्छ्रे दोस्रो स्थानमा छ ।

पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा इन्फरम्याटिक्सले दिएको १२२ रनको लक्ष्य पछ्याएको माछापुच्छ्रेले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर मात्र ११५ रन बनाउन सक्यो । माछापुच्छ्रेका कप्तान दिपेश खत्रीले अविजित ४२ तथा अमित क्षेत्रिले १९ रन बनाए । इन्फरम्याटिक्स विनय भण्डारीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्फरम्याटिक्सले २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो । इन्फरम्याटिक्सका विनय भण्डारीले ४४ रन जोडे । माछापुच्छ्रेका अमित क्षेत्रिले ४ विकेट लिए ।

लिग अन्तर्गत नै बिहिबार भएको अर्को खेलमा केकेएएफ स्याङ्गजा च्यालेन्जर्सलले डाउन टाउन लायन्स पोखरालाई २ रनले पराजित गरेको छ । स्याङजाले दिएको १२२ रनको लक्ष्य पछ्याएको  पोखराले पुरै २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्र बनाउन सक्यो ।माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा जारी लिगमा ६ टोलिको सहभागिता रहेको छ । विजेताले ३ लाख पुरस्कार पाउने छन् । उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १०–१० हजार पाउने छन् । 

Share your thoughts: