डाउन टाउन पोखरा एमसीएल क्रिकेटको शीर्ष स्थानमा

पोखरा - पोखराको डाउन टाउन लायन्स क्लब पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको आफ्नो तेस्रो खेलमा इन्फरम्याटिक्स कलेज चिताहलाई ४३ रनले पराजित गर्दै डाउन टाउन शिर्ष स्थानमा उक्लिएको हो । पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा डाउन टाउनले दिएको १३२ रनको लक्ष्य पछ्याएको इन्फरम्याटिक्सले १२ ओभर ५ बलमा मात्र ८८ रन जोड्दा अलआउट भयो  । डाउन टाउनका बलरले किफायती बलिङ गरेपछि इन्फरम्याटिक्सका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्  । इन्फरम्याटिक्सका विनय भण्डारीले ३८ तथा किरण पुनले २० रन जोडे । डाउन टाउनका लाल बहादुर गुरुङ र राज गुरुङले समान ३ – ३ विकेट लिए ।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको डाउन टाउन लायन्स पोखराले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो । पोखराको लागि सुदिप पौडेलले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै राजु गुरुङले २६ रनको योगदान दिए । इन्फरम्याटिक्सका समीर सेन, बिश्वास पराजुली, सन्तोष श्रेष्ठ र मिलन थापाले समान २ – २ विकेट लिए । यो जितसँगै इन्फरम्याटिक्सलाई पछि पर्दै डाउन टाउन लायन्स पोखरा लिगको शिर्ष स्थानमा उक्लिएको हो । डाउन टाउन लायन्सले ३ खेलबाट ६ अंक जोडेको छ । डाउन टाउन लायन्सले इन्फरम्याटिक्सलाई रङ रेटमा पछि पारेको हो । इन्फरम्याटिक्सको पनि ३ खेलबाट ६ अंक जोडेको छ । दुई खेलमा एकमा जित र एकमा हार बेहोरेर ३ अंक जोडेको माछापुच्छ्रे दोस्रो स्थानमा छ ।


लिग अन्तर्गत नै शुक्रबार भएको अर्को खेलमा  पर्वत टाइटन्सले केकेएएफ स्याङ्गजा च्यालेन्जर्सललाई ४० रनले पराजित गर्यो । पर्वतले दिएको ११३ रनको लक्ष्य पछ्याएको स्याङ्गजा मात्र ७२ रन जोड्दा अलआउट भयो । लिगमा पर्वतको यो दुई खेलमा पहिलो जित हो । यस्तै स्याङ्गजाको तीन खेलमा दोस्रो हार हो ।

माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा जारी लिगमा ६ टोलिको सहभागिता रहेको छ । विजेताले ३ लाख पुरस्कार पाउने छन् । उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १०–१० हजार पाउने छन् ।

Share your thoughts: