नेपालको शानदार जित,थाइल्याण्ड २६ रनमै अलआउट

काठमाडौं,भदौं २६ । मलेसियामा भइरहेको एसिसी यु १९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडलाई १० ओभरमा अलआउट गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो ।

थाइल्यान्डको इनिङ ध्वस्त पार्न सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए। यस्तै नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र र किशोर महतोले १/१ विकेट लिए। थाइल्यान्डका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। यसअघि मलेसियाको क्लम अमन मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८१ रन बनाएको थियो। नेपालका लागि सर्वाधिक रन बनाएका अनिल कुमार साह सतक बनाउन चुके। उनी ९१ रनमा आउट भए। ७४ बल खेलेका अनिलले ६ चौका र ५ छक्का हिर्काए। रोहित पौडेलले २८ रन बटुले। उनले ३० बलमा समान एक चौका र एक छक्का हिर्काए। कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए।  यस्तै प्रनित थापामगरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। उनले ३ चौका र एक छक्का हिर्काए। 

ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए। ९ ‌ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।  पवन शर्राफ २२ रनमा अाउट हुँदा किशोर महतो २ रनमा अविजित रहे।

Share your thoughts: