पर्वत टाइटन्स एमसीएल क्रिकेटको फाइनलमा

काठमाडौं,भदौं २९ । पर्वत टाइटन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरामा बिहिबार भएको दोस्रो क्वालिफायर्समा आयोजक माछापुच्छ्रे लायन्सलाई ५ विकेटले पराजित गर्दै पर्वत टाइटन्स उपाधि नजिक पुगेको हो । अब पर्वतले उपाधिका लागि डाउन टाउन पोखरा लायन्ससँग प्रतिसपर्धा गर्नेछ । डाउन टाउन पोखरा पहिलो क्वालिफायर्समा पर्वत टाइटन्सलाई नै पराजित गर्दै फाइनल पुगिसकेको छ । पहिलो क्वालिफायर्समा पराजित भएपनि पोखराले इलिमिनेटरमा भिएम वारिवर्स बाग्लुङलाई ८ विकेटले पराजित गर्दै क्वालिफायर्समा स्थान बनाएको थियो । फाइनल खेल शनिबार हुने छ ।

पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदानमा माछापुच्छ्रेले दिएको १ सय १९ रनको लक्ष्य पर्वतले मात्र १८ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।  पर्वतको जितमा शाहिल कार्कीले ३१ तथा  पारस लामिछानेले २७ रन बनाए । माछापुच्छ्रेका अभिषेक सिंह ठकुरी र निर्मल क्षेत्रीले समान २ – २ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको माछापुच्छ्रेले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । माछापुच्छ्रेका लागि कप्तान दिपेश खत्रीले अविजित रहदै सर्वा्धिक ४० रन जोडे । त्यस्तै महेश रेग्मीले ३८ रन बनाए । पर्वतका राजु तामाङ र सन्तवान पौडेलले समान १ – १ विकेट लिए ।

माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाा पाउनेछ भने  उपविजेताले २ लाख रुपैयाा पाउनेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १० – १० हजार प्राप्त गर्नेछन् ।

Share your thoughts: