क्रिकेटकाे कप्तानीबाट राजीनामा दिने पारस खड्काकाे घोषणा (विज्ञप्ति)

काठमाडौं ।  पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छाडेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै पारसले टोलीको कप्तानी छाड्ने निर्णय लिएको वताएका हुन्।
काठमाडौँमा असोज १० र ११ गते भएको क्यानको निर्वाचित साधारण सभाले चतुरबहादुर चन्दको अधयक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो । आईसीसीकै निगरानीमा भएको उक्त निर्वाचनपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको थियो । त्यसको भोलिपल्ट नै पारसले राजीनामा दिने निर्णय सार्वजनिक गरेका हुन् ।

आफ्नो फेसबुक पोष्टमा पारसले निलम्बन फुकुवा भएकोमा खुशी व्यक्ति गर्दै नयाँ कार्यसमितिलाई नेपालको क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम गर्न शुभकामना दिएका छन् । खड्काले लेखेका छन्, ‘एउटा नयाँ शुरुवात र प्रतिवद्ध दृष्टिकोणका साथ चिजहरुलाई अगाडि बढाउने नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टीमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ ।

पारसले विज्ञप्तिमा भनेका छन्ः
नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुशी छु र नयाँ समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रो गरोस् भन्ने कामना गर्दछु। मैले अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजिनामा दिने निर्णय गरेको छु। नयाँ शुरुवात नयाँ तरिकाबाट हो र टोलीलाई अघि बढाउने गरी सबैको सहभागिता रहोस् भन्ने चाहन्छु। यो अविश्वनीय यात्राको क्रममा मलाई सहयोग गर्ने सबै खेलाडी, कोच, अम्पायर, साथीहरु, ग्राउन्ड म्यान तथा मेरा परिवारलागि धन्यवाद व्यक्त गर्छु। जय नेपाल।

Share your thoughts: