राखेपको प्रस्ताव क्यानद्धारा ठाडै अस्वीकार,आइसिसीले हटाउला प्रतिबन्ध ?

काठमाडौं,साउन १३ । नेपाली क्रिकेट समस्याबारे अध्ययन गर्न नेपाल आएको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोलीले सम्वद्ध पक्षसँग विहिवार दिनभर संयुक्त छलफल गरेको छ । झण्डै तीन घन्टा चलेको छलफलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, निर्वाचित क्यानका पदाधिकारी र तदर्थ समितिका अधिकारीहरु थिए । बैठकमा राखेप सदस्य सचिव विष्ट र निर्वाचित क्यानले आ आफ्नो अडान राखेका छन् । 

राखेप सदस्य सचिव विष्टले निर्वाचित कमिटीले अदालतमा हालेको मुद्धा फिर्ता लिए समस्या समाधान हुने बताएका छन् । तर, निर्वाचित कमिटीले भने राखेपको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । राष्ट्रिय खेलकुद परिषद्ले क्यानको निर्वाचित कमिटीको समानान्तर रमेश सिलवालको अध्यक्षमा अर्को तदर्थ कमिटी गठन गरेको थियो। यही विवादका कारण आईसीसीले ६ महिनाअघि क्यानलाई प्रतिबन्ध लगाएको थियो।  आइसिसीका प्रतिनिधिले काठमाडौंमा परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट, निर्वाचनको प्रक्रियाबाट आएका क्यानका ४ पदाधिकारी अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष दिवाकर घले, महासचिव अशोकनाथ प्याकुरेल र सचिव किरण राणा, परिषद्ले गठन गरेको क्यानका अध्यक्ष रमेश सिलवाल, पूर्व अध्यक्षहरू विनयराज पाण्डे तथा टंक आङ्बुहाङसँग छलफल गरेका छन्। आइसिसीले २४ अक्टुबरमा हुने आफ्नो बैठकमा प्रतिबन्धको विषयमा निर्णय गर्नेछ।

Share your thoughts: