जर्मनीलाई धक्का, महत्वपूर्ण खेलाडी गोमेज टिमवाट बाहिरिए

एजेन्सी । युरोकप फुटबलमा सेमिफाइनलको तयारीमा रहेको जर्मनीका महत्वपूर्ण खेलाडी मारियो गोमेज प्रतियोगिताका बाँकी खेल खेल्न नसक्ने भएका छन् । हामस्ट्रिङ इन्जुरीका कारण गोमेजले बाँकी खेल खेल्न नसक्ने भएका हुन् । गोमेज क्वाटरफाइनल अन्तर्गत इटालीसँगको खेलमा मेसुट ओजिललाई गोल गर्न सहयता गरेको केही मिनेटपछि नै चोटका कारण मैदानबाट बाहिरिएका उज्यालो अनलाईनमा समाचार छ ।  शनिबार राति भएको क्वाटरफाइनलपछि गरिएको स्क्यानमा उनको खुट्टाको घुँडा भन्दा माथिल्लो भागको मसल च्यातिएको देखिएको छ । गोमेजले प्रतियोगिताका चार खेलमा दुई गोल गरेका छन् । 

जर्मन फुटबल एसोसिएसन डिएफबीले विज्ञप्ति निकालेर गोमेज बाँकी खेलमा खेल्न नसक्ने जनाएको छ । चोटकै कारण जर्मनीका सामी खेदिरा तथा बास्टिएन स्वान्सटाइगर पनि बिहीबार हुने फ्रान्ससँगको सेमिफाइनलमा खेल्ने नखेल्ने टुंगो लागेको छैन । जर्मनीका प्रशिक्षक योआखिम लोले गोमेजले राम्रो प्रदर्शन गरिरहेको र उनको चोटका आफूलाई निकै दुःख लागेको बताएका छन् । सेमिफाइनलको अवस्थामा आएर महत्वपूर्ण खेलाडी टिमबाट बाहिर हुनु निकै अप्ठ्यारो कुरा भएको उनले बताए । तर अब विकल्प खोल्नु पर्ने उनको भनाई छ । 

Share your thoughts: