सोमपालको अलराउन्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं – भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा तामिलनाडु प्रिमियर लिग खेल्ने टिम डिन्डिगुल ड्रागनलाई १ सय ५३ रनले पराजित गरेको छ।

मंगलबार चेन्नइको एसआरएम युनिभर्सिटी क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको डिन्डिगुल ३५‍.३ ओभरमा ६३ रनमा अलआउट भयो।

डिन्डिगुललाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सागर पुनले ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए। यस्तै ललित भन्डारी र सुशील कँडेलले पनि १–१ विकेट हात पारे । ब्याटिङतर्फ डिन्डिगुलका मोहमद आसिफले ५२ बल खेलेर २४ रनको योगदान गरे ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पूरै खेलेर ८ विकेटको क्षतिमा २ सय १६ रन जोड्यो। खराब ओपनिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६६ रनको योगदान दिए। आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ७७ बल खेल्दा २ चौका र ४ छक्का प्रहार गरे। यस्तै बसन्त रेग्मी ५६ रनमा नटआउट रहे। बसन्तले ८३ बलमा १ चौका र २ छक्का हिर्काए। बसन्त र सोमपालले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपाल बलियो स्थितिमा पुगेको थियो।


त्यसअघि नेपालले २४.२ ओभरमा ६ विकेट गुमाउँदा ८५ रन मात्र जोडेको थियो। नेपालका ओपनर ज्ञानेन्द्र मल्लले ५१ बलमा ३९ रन जोडे। सागर पुन १५ रनमा आउट भए। सरद भेषवाकर १ र कप्तान पारस खड्का शून्य रनमा पेभेलियन फर्के। मोहमद आरिफ शेखले २१ रन जोड्दा विनोद भन्डारी १ रनको झिनो स्कोरमा आउट भए। बलिङतर्फ डिन्डीगुलका एस अरविन्द ४ विकेट लिए भने सुरेन्दर जी र आर विवेकले समान २–२ विकेट लिए।

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत हङकङविरुद्ध खेलको तयारीका लागि नेपाली टिम भारतको चेन्नइमा गएको हो। १० दिन भारतमा रहने क्रममा नेपालले अब तीन अभ्यास खेल खेल्नेछ। नेपाली टिम दसैंको फूलपातीमा नेपाल फर्कनेछ।

डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबीच आगामी १३ र १५ अक्टोबर (असोज २७ र २९) मा प्रतिस्पर्धा हुँदैछ।  डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ। शीर्ष स्थानको नेदरल्यान्ड्सको १६, दोस्रो स्थानको पपुवा न्युगिनीको १४, तेस्रो स्थानको स्टकल्यान्डको १३, चौथो स्थानको हङकङको ११ र पाँचौं स्थानको केन्याको १० अंक छ। नेपालभन्दा तल रहेका नामिबिया र यूएईको समान ४–४ अंक छ। नेपालका लागि शीर्ष ४ मा रहेर एक दिवसीय विश्वकप छनोट खेल्न हङकङसँगको खेल महत्वपूर्ण छ।

Share your thoughts: