जेम्स रोड्रिग्वेज चम्किँएपछि कोलम्बियाको रुस यात्रा तय

एजेन्सी । कोलम्बिया रुसमा हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको आफ्नो अन्तिम खेलमा बराबरी गरेर पनि कोलम्बिया विश्वकपमा छानिन सफल भएको हो । अवे मैदानमा भएको खेलमा कोलम्बिया पेरुसँग १–१ को बराबरीमा रोकिएको हो । कोलम्बियाका लागि जेम्स रोड्रिग्वेजले ५६ औं मिनेटमा गोल गरे । 

यस्तै पेरुका लागि ७४ औं मिनेटमा गुएरिरोले बराबरी गोल फर्काए । बराबरीमा रोकिए पनि दक्षिण अमेरिकी क्षेत्रका १० देशमध्ये चौथो स्थानमा रहँदै कोलम्बियाले रुस यात्रा तय गरेको हो । 

यो क्षेत्रबाट शीर्ष चारमा रहने टोली सोझै विश्वकपमा छनौट हुन्छन् । कोलम्बिया २७ अंकसहित चौथो स्थानमा रहन सफल भयो । यस्तै २६ अंक भएको पेरुले पाँचौं स्थानमा रहँदै प्ले–अफमा स्थान बनाएको छ । पेरुले विश्वकप छनौटका लागि अब न्युजिल्याण्डसँग दुई लेगको प्ले–अफ खेल्ने छ ।  

Share your thoughts: