विश्वकप फुटबलको ड्र सार्वजनिक,कुन समूहमा कुन राष्ट्र ?

काठमाडौं । विश्व खेलकुदकै सबैभन्दा चर्चित खेल मेला फिफा विश्वकप फुटबलको २१औँ संस्करणको ड्र सार्वजनिक भएको छ।  रसियाको मोस्को शहरमा शुक्रबार राति एक भव्य कार्यक्रमका बीच छनोट भएका ३२ राष्ट्रलाई विभिन्न ८ समूहमा विभाजन गरिएको हो। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा एउटै समूहमा परेका अर्जेन्टिना र नाइजेरिया तथा कोलोम्विया र जापान यस पटक पनि एउटै समूहमा परेका छन्।


दुई वटा समूहमा चार फरक महादेशका टोली परेका छन्। जसअन्तर्गत समूह ए मा रुस, उरुग्वे, इजिप्ट, साउदी अरेबिया छन् भने समूह एच मा  पोल्याण्ड, कोलोम्विया, सेनेगल, जापान छन्।


ड्र समारोहमा फिफा अध्यक्ष जेरेमी इन्फान्टिन्हो, रसियन राष्ट्रपति भ्लादमिर पुटिन, विश्व फुटबलका हस्तीहरु पेले म्याराडोना रोनाल्डो रोनाल्डिन्हो लगायतको उपस्थिति थियो। विश्वकप जुन १४ देखि जुलाई ३१ सम्म रुसको विभिन्न ११ शहरको १२ वटा स्टेडियममा हुनेछ।


उद्घाटन खेल जुन १४ मा आयोजक रुस र साउदी अरेबियाबीच हुनेछ। 


कुन समूहमा कुन राष्ट्र परे हेर्नुहोसः–


समूह एः रुस, साउदी अरेयिबा, इजिप्ट, उरुग्वे


समूह बीः पोर्चुगल, स्पेन, मोराक्को, इरान


समूह सीः फ्रान्स, पेरु, अष्ट्रेलिया, डेनमार्क


समूह डीः अर्जेन्टिना, आइसल्याण्ड, क्रोयोसिया, नाइजेरिया


समूह ईः ब्राजिल, स्वीट्जरल्याण्ड, कोस्टारिका, सर्बिया


समूह एफः जर्मनी, म्याक्सिको, स्वीडेन, दक्षिण कोरिया


समूह जीः बेल्जियम, पानामा, टुनिसिया, इंग्ल्याण्ड


समूह एचः पोल्याण्ड, सेनेगल, कोलोम्बिया, जापान

समूह ए 

रुस: सन् २०१० को डिसेम्बर २ तारिखमा विश्वकप आयोजनाको अधिकार पाएकै दिन रुसले विश्वकप खेल्ने पक्का भएको थियो । ११ औं पल्ट विश्वकप खेल्न लागि रहेको रुस सन् १९६६ मा चौथो भएको थियो । 

साउदी अरेबियाः सन् २००६ पछि पहिलो पल्ट विश्वकपमा स्थान पक्का गरेको साउदी अरेबिया एशियाली क्षेत्रको छनोटमा समूह बीको उपविजेता बनेको हो । पाँचौ पल्ट विश्वकपमा सहभागी हुन लागेको साउदी अरेविया यसअघि सन् १९९४ मा दोश्रो चरणसम्म पुगेको थियो । 

इजिप्टः अफ्रिकी क्षेत्रको छनोटमा समूह ईको विजेता बनेको इजिप्ट सन् १९९० पछि पहिलो पल्ट विश्वकपमा छानिएको हो । सन् १९३४ र १९९० मा इजिप्ट समूह चरणबाटै घर फर्केको थियो । 

उरुग्वेः सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वे लगातार तेश्रो पल्ट विश्वकपमा छनोट भएको हो । १३ औं पल्ट विश्वकपमा छनोट हुने क्रममा उरुग्वे यो पल्ट ल्याटिन अमेरिकी क्षेत्रको उपविजेता बनेको हो ।


समूह बी

पोर्चुगलः विश्वका अहिलेसम्मका उत्कृष्ट फुटबलर मध्येका एक क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल युरोपेली क्षेत्रको समूह बीको विजेता बन्दै लगातार पाँचौ पल्ट विश्वकपमा छनौट भएको हो । सातौं पल्ट विश्वकप खेल्न लागेको पोर्चुगल सन् १९६६ मा तेश्रो भएको थियो । 

स्पेनः सन् २०१० को विश्वकप विजेता स्पेनको यो १५ औं विश्वकप सहभागिता हो । युरोपेली क्षेत्रको छनोटमा समूह जीको विजेता बनेर स्पेन लगातार ११ औं पल्ट विश्वकपमा छनौट भएको हो । 

मोरक्कोः अफ्रिकी क्षेत्रको छनोटमा समूह सीको विजेता बन्दै मोरक्को सन् १९९८ पछि पहिलो पल्ट विश्वकपमा पुगेको हो । पाँचौ पल्ट विश्वकप खेल्न लागेको मोरक्को सन् १९८६ मा अन्तिम १६ मा पुगेको थियो ।

इरानः एशियाली क्षेत्रको छनोटमा समूह एको विजेता बनेर इरानले पाँचौ पटक विश्वकपमा स्थान सुरक्षित गरेको हो । सन् १९७८, १९९८, २००६ र २०१४ मा उसको यात्रा समूह चरणबाट अघि बढ्न सकेको छैन । 

समूह सी

फ्रान्सः सन् १९९६ मा घरेलु मैदानमा भएको विश्वकप उपाधि उचालेको फ्रान्सले त्यसपछिका कुनै पनि विश्वकप गुमाएको छैन । १५ औं पल्ट विश्वकप मैदानमा उत्रिन लागेको फ्रान्स यो पल्ट युरोपेली क्षेत्रको छनोटमा समूह एको विजेता बनेर रुसको टिकट पक्का गरेको हो ।

अष्ट्रेलियाः भुगोलले एशियामा नपर्ने भए पनि एशियाली क्षेत्रबाट विश्वकप छनोट खेल्दै आएको अष्ट्रेलिया अन्तरमहादेशीय प्ले अफमा हण्डुरसलाई पछि पार्दै लगातार चौथो पल्ट विश्वकपमा पुगेको हो । पाँचौं पल्ट विश्वकप खेल्न लागेको अष्ट्रेलिया सन् २००६ मा अन्तिम १६ मा पुगेको थियो । 

पेरुः ल्याटिन अमेरिकी क्षेत्रको छनोटमा अन्तिम खेलमा कोलम्बियासँग बराबरी खेलेपछि पाएको प्ले अफको मौकालाई सदुपयोग गरेर पेरुले ३६ वर्षपछि विश्वकपको टिकट पक्का गरेको हो । अन्तरमहादेशीय प्ले अफमा उसले न्युजिल्याण्डलाई हराएको हो  पाँचौ पल्ट विश्वकप खल्न लागेको पेरु सन् १९७० मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

डेनमार्कः  युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणमा रिपब्लिक अफ आयरल्याण्डलाई समग्रमा ५–१ ले हराउँदै डेनमार्क सन् २०१० पछि पहिलो पल्ट विश्वकपमा छानिएको हो । यो उसको पाँचौ विश्वकप सहभागिता हो । 

 


समूह डी

अर्जेन्टिनाः ल्याटिन अमेरिकी क्षेत्रको छनोटमा अन्तिम खेलमा इक्वेडरलाई ३–१ ले हराउँदै लियोनेल मेस्सीको टिम अर्जेन्टिना लगातार १२ औं पल्ट विश्वकपमा छानिएको हो । इक्वेडरसँगको यो खेल नजिकेको भए सन् १९७८ र १९८६ को विजेता अर्जेन्टिना विश्वकपमा छानिने थिएन । यो अर्जेन्टिनाले १७ औं सहभागिता हुने छ । 

आइसल्याण्डः रुस विश्वकपमा दुई नयाँ टिमले स्थान बनाएकोमा आइसल्याण्ड त्यसै मध्येको एक हो । उसले युरोपेली क्षेत्रको समूह ईको विजेता हुँदै पहिलो पल्ट विश्वकपको अनुभव लिन लागेको हो । 

क्रोएसियाः युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणमा ग्रिसलाई समग्रमा ४–१ ले हराउँदै क्रोएसिया पाँचौ पल्ट विश्वकपमा पुगेको हो  । लगातार दोश्रो पल्ट विश्वकप खेल्न लागेको क्रोएसिया सन् १९९८ मा तेश्रो भएको थियो । 

नाइजेरियाः अफ्रिकी क्षेत्रको छनोटमा समूह बीको विजेता बनेको नाइजेरियाको यो लगातार तेश्रो विश्वकप सहभागिता हो ।  छैटौं पल्ट विश्वकप खेल्न लागेको नाइजेरिया सन् १९९४, १९९८ र सन् २०१४ को विश्वकपमा दोश्रो चरणसम्म पुगेको थियो ।

 

समूह ई

ब्राजिलः अहिलेसम्म आयोजना भएका सबै विश्वकप खेल्ने एक मात्र टोली ब्राजिल हो ।  स्न १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी ५ पटक विश्वकप उचालेको ब्राजिल ल्याटिन अमेरिकी क्षेत्रको विजेताको रुपमा रुसमा पुगेको हो  ।

स्वीट्जरल्याण्डः युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणमा नर्थन आयरल्याण्डलाई समग्रमा १–० ले हराउँदै स्वीट्जरल्याण्ड ११ औं पटक विश्वकपमा पुगेको हो । लगातार चौथो पल्ट विश्वकप खेल्न लागेको स्वीट्जरल्याण्ड सन् १९३४, १९३८ र १९५४ मा क्वाटर फाइनलसम्म पुगेको थियो । 

कोष्टारिकाः अमेरिकी क्षेत्रको छनोटमा उपविजेता बनेको कोष्टारिकाको यो पाँचौ विश्वकप सहभागिता हो । सन् २०१४ मा कोष्टारिका क्वाटर फाइनलसम्म पुगेको थियो । 

सर्बियाः युरोपेली क्षेत्रको समूह डीको विजेता बनेको सर्बिया समग्रमा १२ औं पल्ट विश्वकपमा छनौट भएको हो । उ सन् १९९२ सम्म युगोस्लाभिया र सन् १९९२ देखि २००६ सम्म सर्बिया एण्ड मोन्टेनेग्रेको अधिनमा रहेको सर्बिया सन् २००६ मा स्वतन्त्र भएको हो । 

समूह एफ

जर्मनीः डिफेन्डिङ च्याम्पियन तथा चार पटकको विश्वविजेता जर्मनीले युरोपेली क्षेत्रको छनोटमा समूह सीको विजेता बन्दै रुसको टिकट पक्का गरेको हो । १९ औं पल्ट विश्वकप खेल्न लागेका उसको यो लगातार १७ औं सहभागिता पनि हो । पहिलो पल्ट सन् १९५४ मा विश्वकप उचालेको जर्मनीले त्यसपछि सन् १९७४, १९९० र २०१४ मा उपाधि जितेको छ ।

मेक्सिकोः अमेरिकी क्षेत्रको छनोटमा विजेता बनेर मेक्सिकोले रुसको टिकट काटेको हो । १६ औं पल्ट विश्वकप खेल्न लागेको मेक्सिकोको यो लगातार सातौं सहभागिता हो । मेक्सिको सन् १९७० र सन् १९८६ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

स्वीडेनः सन् १९५८ को उपविजेता स्वीडेन चार पटकको विश्व विजेता इटालीलाई पछि पार्दै विश्वकपमा पुगेका हो । युरोपेली क्षेत्रको छनोटको पाँचौ चरणको होम एण्ड अवे खेलमा इटाली स्वीडेनसँग समग्रमा १–० ले पराजित भएको थियो । स्वीडन सन् २००६ पछि पहिला पल्ट विश्वकपमा छनौट भएको हो ।

दक्षिण कोरियाः सन् २००२ मा घरेलु मैदानमा भएको विश्वकपमा सेमिफाइनलमा पुगेर सबैलाई आश्चर्यमा पारेको दक्षिण कोरियाको यो १० औं सहभागिता हो । लगातार ९ पल्ट विश्वकपमा स्थान सुरक्षित गर्ने क्रममा दक्षिण कोरिया यो पल्ट एशियाली क्षेत्रको छनोटमा समूह एको उपविजेता बनेको हो । 

समूह जी

बेल्जियमः युरोपेली क्षेत्रको समूह एचको विजेताका रुपमा बेल्जियमले १३ औं पटक विश्वकपमा स्थान पक्का गरेको हो । बेल्जियम सन् १९८६ मा चौथो भएको थियो । 

पनामाः आउँदो विश्वकप खेल्ने २ नयाँ टोली मध्येको एक टोली पनामा हो । अमेरिकी क्षेत्रको छनोटमा पनामा तेश्रो भएर विश्वकपमा पुगेको हो ।

ट्युनिसियाः अफ्रिकी क्षेत्रको छनोटमा समूह एको विजेता बनेको ट्युनिसिया सन् २००६ पछि पहिलो पल्ट विश्वकपमा पुगेको हो । ट्युनिसियाले अहिलेसम्म खेलेका सबै ४ वटा विश्वकपमा समूह चरण पार गर्न सकेको छैन ।

इंग्ल्याण्डः सन् १९६६ को विश्वकप विजेता इंग्ल्याण्ड युरोपेली क्षेत्रको छनोटमा समूह एफको विजेता बन्दै लगातार छैटौं पल्ट विश्वकपमा छनोट भएको हो । समग्रमा उसको यो १५ औं सहभागिता हो ।


समूह एच

पोल्याण्डः आठौं पल्ट विश्वकप खेलिरहेको पोल्याण्ड सन् २००६ पछि पहिलो पल्ट छनोट हुन सकेको हो । युरोपेली क्षेत्रको छनोटमा समूह ईको विजेता बनेको पोल्याण्ड सन् १९७४ र १९८२ मा तेश्रो भएको थियो । 

सेनेगलः सन् २००२ को पहिलो विश्वकप सहभागितामा क्वाटर फाइनलसम्म पुगेर सनसनी मच्चाएको सेनेगलले त्यसपछिका विश्वकपमा स्थान बनाउन सकेका थिएन । तर यो पटक अफ्रिकी क्षेत्रको छनोटमा समूह डीको विजेता बनेर सेनेगलले रुसको टिकट पक्का गरेको हो ।

कोलम्बियाः अर्जेन्टिनाजस्तै कोलम्बिया पनि ल्याटिन अमेरिकी क्षेत्रको छनोटमा अन्तिम खेलबाट विश्वकपमा पुगेको हो । उसले पेरुलाई एक एकको बराबरीमा रोक्दै रुसको टिकट काटेको हो । गत संस्करणमा क्वाटर फाइनलसम्म पुगेको कोलम्बियाको यो छैटौं विश्वकप सहभागिता हो ।

जापानः जापान लगातार छैटौं पटक विश्वकप खेल्ने एशियाली देश हो । यो पटक एशियाली क्षेत्रको छनोटमा समूह बीको विजेता बनेको जापानले सन् २००२ मा घरेलु भूमिमा समूह चरण पार गरेको थियो । यस्तै उसले सन् २०१० मा पनि समूह चरण पार गरेको थियो ।

Share your thoughts: