रियल म्याड्रिड लगातार दोस्रो पटक क्लब विश्वकपको उपाधि नजिक

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा युएईको अल जाजिरालाई २ – १ ले पराजित गर्दै रियल उपाधि नजिक पुगेको हो ।

युएईमा भएको खेलमा रियलको जितमा क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलले समान एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने जाजिराले लिएको थियो तर त्यसलाई रोक्दै रियलले खेल आफनो पक्षमा बनाएको थियो । जाजिराको लागि खेलको ४१ औं मिनेटमा रोमारिन्होले गोल गरेका थिए ।

पहिलो हाफमा १ – ० ले पछि परेको रियलले दोस्रो हाफमा लय सम्हालदै गोल गर्न सफल भयो ।


दोस्रो हाफको ५३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसअघि रियलका करिम बेन्जिमाले गोल गरेपनि गोलको मान्यता पाएन । बेन्जिमाको हेड गोल भिडियो असिस्टेन्ट रेफ्री प्रविधिले अफसाइड देखाएसँगै गोलको मान्यता पाएन। ८१ औं मिनेटमा मैदान प्रवेश गरेका सब्सिच्युड खेलाडी ग्यारेथ बेलले मैदान छिरेको पहिलो मिनेटमै गोल गरेर रियल मड्रिडलाई २ – १ को अग्रता दिलाए । उनी बेन्जिमाको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।


जाजिराले बराबरी गर्ने कोशिस गरे पनि सफल हुन सकेन । जितसँगै रियलले उपाधिको लागि ब्राजिलियन क्लब ग्रेमियोको सामना गर्ने छ । ग्रेमियो मेक्सिकोको पचुकालाई हराउदै यसअघि नै फाइनलमा पुगिसकेको छ ।

Share your thoughts: