उरुग्वेलाई चाइना कपको उपाधि

एजेन्सी । उरुग्वेले चाइना कप फुटबलको उपाधि जितेको छ । सोमबार राति भएको फाइनलमा वेल्सलाई १–० ले हराउँदै उरुग्वेले उपाधि आफ्नो बनाएको हो । उरुग्वेको जितमा एडिनसन काभानीले निर्णायक गोल गरे । उरुग्वेको लागि १०० औं खेल खेलिरहेका काभानीले खेलको ४९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

काभानीले क्रिष्टियन रोड्रीगेजको पासमा गोल गरेका थिए । यता, गोल गर्ने पाएको मौका सदुपयोग गर्न नसक्दा वेल्सले साँघुरो हार बेहोर्नुपर्यो । चाइना कप अन्तर्गत नै तेस्रो स्थानको लागि भएको खेलमा चेक गणतन्त्रले आयोजक चीनलाई ४–१ ले हरायो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको रुपमा रहेको प्रतियोगितामा उरुग्वे, वेल्स, चीन र चेक गणतन्त्रगरी ४ टोलीको सहभागिता रहेको थियो ।
 

Share your thoughts: