रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा,इन्जुरी समयमा रोनाल्डोको गोल

एजेन्सी । साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले युभेन्टसमाथि शानदार जित निकाल्दै आफ्नो उपाधि यात्रा कायम राख्यो ।

पहिलो लेगमा ३–० ले विजयी भएको रियल घरेलु मैदानमा भएको दोस्रो लेगमा ३–१ ले पराजित भएपछि समग्रमा चार तीन गोल अन्तरले सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

उत्कृष्ट कमब्याक गर्ने योजनामा देखिएको युभेन्टसले खेलमा तीन शुन्यको अग्रता बनाइसकेको थियो । तर, अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलमार्फत रियलले अन्तिम चारमा स्थान बनायो । खेलको दोस्रो मिनेटमा नै सामी खिदेराको पासमा मारीयो मन्जुकिकले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा युभेन्टसका लागि पुनः मन्जुकिकले नै गोल गरे ।

युभेन्टसले दोस्रो हाफमा थप एक गोल गरे पनि दश खेलाडीमा झर्न पुग्यो । खेलको ६० औं मिनेटमा ब्लेइजी मातिउदीले युभेन्टसका लागि तेस्रो गोल गरे । तर, खेलको इन्जुरी समयको दोस्रो मिनेटमा युभेन्टसका गोलकिपर बुफोन रातो कार्ड पाउँदै मैदानबाट बाहिरीए । त्यसपछि अन्तिम मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए । रोनाल्डोले युभेन्टसविरुद्ध च्याम्पियन्स लिगमा १० औं गोल गर्न सफल भए ।


Share your thoughts: