हिमालयन शेर्पालाई झापा–११ ले हरायो

झापा, पुस १६ । झापाको काँकडभिट्टामा आजदेखि सुरु भएको मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उद्घाटन खेलमा रमपम झापा –११ सेमिफाइनलमा प्रवेश गरेको छ । काँकडभिट्टा माविको खेल मैदानमा आयोजित खेलमा हिमालयन शेर्पा काठमाडौँलाई ट्राइबेकरमा ५–३ को गोलअन्तरले हराउँदै झापा–११ ले सेमिफाइनलको यात्रा तय गरेको हो । 

निर्धारित समयमा २–२ को बराबरी भएपछि निर्णयका लागि खेलका रेफ्री लब खत्रीले खेललाई सोझै टाइब्रेकरमा लगेका थिए । झापाका तर्फबाट कप्तान योगेश गुरुङ, कर्ण लिम्बू, रवि थापा मगर, बुद्ध लिम्बू र रजनी धिमालले गोल गरेका थिए । हिमालयन शेर्पाका तर्फबाट भूपाल गुरुङ, हेमन गुरुङ र रुपेश केसीले गोल गरे । टिमका विदेशी खेलाडी मोसाले हानेको प्रहार गोलपोष्ट बाहिर गएपछि हिमालयन शेर्पाको खेल यात्रा टुङगिएको थियो । 

यही पुस २३ गतेसम्म चल्ने प्रतियोगिताका विजेता टिमले नगद रु चारलाख एकहजार राशीको पुरस्कार र उपविजेता टिमले नगद रु दुईलाख एकहजार पाउनेछन् ।  खेलको उद्घाटन आजै युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले गर्नुभएको थियो । भोलिको खेल आयोजक काँकडभिट्टा गोल्डकप टिम र ब्लु आर्मी, सिलोङ, भारतबीच हुनेछ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका आठ टिमको सहभागिता रहेको छ । रासस 

Share your thoughts: