फाल्गुनन्द गोल्डकप : आयोजक फिदिम स्पोर्टिङ सेमिफाइनलमा

पाँचथर,पुस १९ । फिदिममा जारी ८ औं फाल्गुनन्द गोल्डकपमा आयोजक फिदिम स्पोर्टिङ क्लबले सेमिफाइनल यात्रा तय गरेको छ। आज भएको खेलमा स्पोर्टिङले  फ्रेण्डस क्लब विआरसी भुटानलाई २–० ले पराजित गर्‍यो।  फिदिमका लागि दुवै गोल जर्सी नं। ६ का शरण बस्नेतले गरे। उनले दोश्रो हाफको १९ औं र ३९ औं मिनेटमा गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम क्वाटरफाईनलमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र चर्च व्वाईज क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए। 

त्यस्तै बिहीबार पहिलो समिफाईनलमा मंगलबारको विजेता फिदिम र विर्ता युनाइटेड क्लब झापाबीच तथा शुक्रबार हुने दोश्रो सेमिफाईनलमा एलेभेन एरोज सुनसरी र बुधबार हुने खेलको बिजेताबीच प्रतिस्पर्धा हुनेछ।

१६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिम स्पोर्टिङ क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगिताको फाईनल खेल आगामी आइतबार हुने आयोजकले जनाएको छ

Share your thoughts: