‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

इटहरी, फागुन २५ । अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता यहाँ सञ्चालन हुने भएको छ। यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय समूह, रुपन्देही— ११, सुदूरपश्चिम— ११ र नेपालगन्ज—११ गरी ‘ए’ डिभिजनका आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतियोगिताका लागि कुल २७ लाख बजेट छुट्टयाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु दुई लाख ५१ हजार पुरस्कार उपलब्ध गराइने सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताए। 

त्यस्तै प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, फारवर्ड, डिफेन्स र मैन अफ दि म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको छ ।

नकआउटका आधारमा खेलाइने सो प्रतियोगिताको अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् ।

प्रतियोगिता सम्बन्धी तयारीका विषयमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका जिल्ला अध्यक्ष शाहीले टुवोर्गसँग तीन वर्षसम्म प्रतियोगिता सञ्चालनका लागि सम्झौता भएको जानकारी गराए। 

यसैबीच, अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा क्रियाशील पत्रकार महिला समूहद्वारा आज यहाँ आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकार महिला समूहले विजय प्राप्त गरेका छन् । 

पत्रकार महिला समूहले महिला मानवअधिकारकर्मीको समूहलाई २५—१८, ११—२५ र २६—२४ अङ्कले पराजित गरेको हो । रासस


Share your thoughts: