रेडबुल एन्फा राष्ट्रिय लिग फुटसलको उपाधि शंखमुललाई

काठमाडौं,भदौं २५ । रेडबुल एन्फा राष्ट्रिय लिग फुटसलको उपाधि शंखमुल फुटसलले जितेको छ । आइतबार भएको फाइनलमा किक अफ फुटसललाई ५ – ४ गोल अन्तरले पराजित गर्दै शंखमुलले उपाधि जितेको हो । बाँसबारीस्थित चौर रिक्रेसनल सेन्टरमा भएको फाइनलमा शंखमुललाई जित दिलाउन सुरज राउतले दुई तथा अभय राना, अनिश श्रेष्ठ र निर्मल गुरुङले समान एक एक गोल गरे । किक अफका लागि सुमन डंगोलले दुई तथा रजिन पाण्डे र मनि लामाले समान एक एक गोल फर्काए ।

उपाधिसँगै शंखमुल पाँच लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको किक अफले दुई लाख पचास हजारमा चित्त बुझायो  । एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौटको लागि एन्फाको फुटसल कमिटिले लिग गराएको हो । 

यस प्रतियोगिताका आधारमा एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनौट गरिने छ । छनोट हुने खेलाडीको नामावली सोमबार सार्वजनिक गरिने आयोजकले जनाएको छ । एएफसी फुटसल छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुनेछ ।

Share your thoughts: