‘प्रधान सेनापति ट्रफी खेलकुद: फुटबलमा हवाई सुरक्षा निर्देशनालय पहिलो

काठमाडौं, भदौ ३० । ‘प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता-२०७३’ बुधबार सम्पन्न भएको छ । प्रतियोगिताअन्तर्गत भएको फुटबल खेलमा हवाई सुरक्षा निर्देशनालय पहिलो भएको छ । सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्र परिसरको खेल मैदानमा भएको उक्त प्रतियोगिताको बुधबार एक विशेष समारोहका बीच प्रधान सेनापति राजेन्द्र क्षत्रीले समापन गरेका छन् । प्रतियोगिता समापनको अवसरमा सेनापति क्षत्रीले प्रधान सेनापति पृतना रनिङ शिल्ड फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल श्री हवाई सुरक्षा निर्देशनालयलाई ट्रफी, नगद, प्रमाणपत्र र पदक प्रदान गरे । त्यसैगरी दोस्रो स्थान हासिल गर्न सफल श्री मध्यपश्चिम पृतना र तृतीय स्थान हासिल गर्न सफल श्री मध्य पृतना हेडक्वाटर टिमका खेलाडीहरूलाई पनि क्षत्रीले नगद, प्रमाणपत्र र पदक प्रदान गरेका थिए । 

त्यसैगरी, सो अवसरमा केही समयअघि ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा नयाँ राष्ट्रिय किर्तीमान कायम गर्न सफल खेलाडीहरू श्री सुदुर पश्चिम हवाई सुरक्षा ब्याट्रीकी प्युठ सरस्वती भट्टराई (एथलेटिक्स १५०० मि.) र त्रिभुवन आर्मी क्लबसँग आवद्ध शिरिष गुरुङ्ग (पौडी १०० मि. फ्रिस्टाइल) लाई पनि सम्मान गरिएको थियो । त्यस्तै ‘अजेयबल ट्रफी’ पुरुषतर्फ श्री पशुपतिप्रसाद गणका अम. दिपक श्रेष्ठ र महिलातर्फ श्री जगदल गणकी प्युठ कृष्णाकुमारी चौधरीलाई प्रदान गर्नु गरिएको छ । त्यसैगरी, खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपाली सेनाको गरिमालाई उच्च राख्न योगदान पु¥याएका जुडो प्रशिक्षक इन्द्र डङ्गोललाई पनि सो अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो । 

त्यस्तै लाईफ टाइम अचिभमेण्ट अवार्डबाट विभिन्न खेलका ६ जना राष्ट्रिय पूर्वखेलाडीहरूलाई सम्मानित गरिएको छ । यसरी सम्मानित हुने खेलाडीहरूमा तेक्वान्दोका जम. ध्रुवबहादुर गुरुङ्ग (अ.प्रा.) र अमल्दार शंकर तामाङ्ग (अ.प्रा.), फुटबलका प्राविधिक जमदार बाबुकाजी धौवन्जार (अ.प्रा.), बक्सिङका हुद्धा पूर्ण बहादुर गुरुङ्ग अ.प्रा.), भारत्तोलनका हुद्धा ज्ञानबहादुर श्रेष्ठ (अ.प्रा.) र पौडीका अमल्दार सिताराम शाही (अ.प्रा.) रहेका छन् । 

प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता २०७३ को समापन कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी रमेश कुमार पुनले समापन मन्तव्य व्यक्त गरेका थिए । समापन समारोहमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरू, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू, नेपाली सेनाका रथीबृन्द एवम् अधिकृतहरू, विदेशी सैनिक सहचारीहरू, नेपाल खेलकुद परिषद्का पदाधिकारीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

नेपाली सेनाले ‘स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद’ भन्ने भनाईलाई आत्मसाथ गर्दै उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने अभिप्रायले विभिन्न स्तरमा खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको तर्फबाट खेलाडीहरू सहभागी गराई सफलता हासिल गर्दै आएको छ । यसैगरि, यस्ता प्रतियोगिताले नेपाली सेनाको जवानहरूमा शारिरीक सुगठन, अनुशासन एवम् चारित्रिक विकासमा समेत उल्लेख्य योगदान पु¥याउने नेपाली सेनाले विश्वास लिएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


Share your thoughts: