एन्फाको उपाध्यक्ष पदमा उपेन्द्रमान सिंहको उम्मेदवारी घोषणा

काठमाडौं,असोज ३ । पूर्व राष्ट्रिय फुटबल खेलाडी उपेन्द्रमान सिंहले अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी सिंहले कात्तिक ८ गते हुने एन्फाको चुनावमा उपाध्यक्ष पदको लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्। राष्ट्रिय फुटबल प्रशिक्षक संघ, अखिल नेपाल फुटबल खेलाडी संघ, राष्ट्रिय फुटबल रेफ्री संघको संयुक्त पहलमा सिंहलाई उपाध्यक्षका लागि अगाडि सारिएको हो।

सुरुमा राजुकाजी शाक्यको नाम आए पनि तीन वटै संघको प्रस्ताव स्वीकार गर्दै आफू उपाध्यक्ष पदमा लड्ने निर्णय गरेको सिंहले बताए। 'नेपाली फुटबल अहिले जटिल परिस्थितीमा छ। विभिन्न चुनौती छन्,' उनले भने, 'यसलाई परिवर्तन गर्दै नेपाली फुटबललाई नयाँ मोडतर्फ लानुपर्छ भनेर नै अगाडि बढेको हुँ।'एन्फाकै मान्छे भएर उपाध्यक्ष पदमा उम्मेदवारी किन? भन्ने पत्रकारको जिज्ञासामा सिंहले आफू कसैको मान्छे नभई फुटबलको मान्छे भएको प्रस्ट पारे।

विगतमा प्राविधिक रुपमा एन्फामै काम गर्दै आएका सिंहले आफूहरु यस प्रकारको चुनावमा पहिलो पटक लागेर सकरात्मक सन्देश दिने बताए। उनले तल्लो लेभलमा चुप लागेर बसिरहँदा माथिका मान्छेले आफ्नो गुनासो कहिल्यै नसुनेको र त्यसैको लागि पनि अगाडि बढ्नु जरुरी रहेको पनि स्पष्ट पारे।

'हाम्रो कुरा कहिल्यै पनि नसुनिने रैछ भन्ने लाग्यो, त्यसैले पोलिसी बनाउने लेभलमा जानु जरुरी छ भनेर लागेका छौं,' सिंहले भने।

नेपाली राष्ट्रिय टोलीको गोलरक्षक हुँदै, क्लबको प्रशिक्षक, राष्ट्रिय टोलीकै उमेर समूहको प्रशिक्षक समेत भइसकेका सिंह अहिले बी डिभिजन खेलिरहेको मध्यपुर युथ एसोसिएसनका अध्यक्ष समेत हुन्।

'म पहिला फुटबल खेलाडी हुँ, त्यसपछि व्यवस्थापनको पनि जिम्मेवारी सम्हालिसकेको छु,' उनले थप भने, 'फुटबलको पुरानो खेलाडी भए पनि चुनावको भने नयाँ खेलाडी। त्यसैले स्ट्राटेजिक प्लान बनाएर र सबैको सुझाव सल्लाह लिएर नै अगाडि बढ्नेछौं।'

सिंह खेलाडी संघका अध्यक्ष समेत हुन्। पत्रकार सम्मेलनमा प्रशिक्षक संघका अध्यक्ष राजुकाजी शाक्य, रेफ्री संघका अध्यक्ष सुरेन्द्र शिख्रकार लगायत राष्ट्रिय फुटबल टीमका पुराना तथा वर्तमान कप्तानहरुले समेत सिंहलाई समर्थन जनाएका थिए।

आगामी कात्तिक ८ गते विशेष साधारणसभा मार्फत एन्फामा रिक्त रहेको अध्यक्ष र उपाध्यक्ष पदको लागि चुनाव हुँदैछ।

अध्यक्ष पदका लागि भने यसअघि नै टासी घलेले उम्मेदवारी घोषणा गरिसकेका छन् भने एन्फाकै कार्यावाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पा पनि चुनावी अभियानमा लागिरहेका छन्।

एन्फामा करिब दुई दशक अध्यक्ष पदमा हरँदै आएका गणेश थापालाई फिफाले १० वर्ष फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगाएपछि एन्फाको अध्यक्ष पद रिक्त छ। यस्तै उपाध्यक्ष ललित कृष्ण श्रेष्ठको निधनपछि उपाध्यक्ष पद पनि खाली छ।

-पहिलोपोस्ट 


Share your thoughts: