बी’ डिभिजन लिग :सामाजिक र नयाँबस्ती विजयी

काठमाडौं,असोज ५ ।  काठमाडौंमा जारी सहिद स्मारक बि–डिभिजन लिग फुटबलमा  बुधबारका भएको खेलमा नयाँबस्ती युथ क्लब र सामाजिक युथ क्लब विजयी भएका छन् । सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा सामाजिकले बाँसबारीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । सामाजिकको जितमा भुवन बस्नेत, सुरेश खत्री र सुबास तामाङले समान १–१ गोल गरे । 


बाँसबारीका सुनिल बिके र बिनोद गुरुङले १–१ गोल गरे । यस्तै सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा पुलचोक स्पोटर्स क्लबलाई २–१ ले पराजित गर्दै नयाँ बस्ती विजयी भएको हो ।

बुधबारै ब्वाइज युनियन क्लबले भने खुमलटार युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको छ । लिगमा २० अंकका साथ श्रीकुमारी क्लब शीर्ष स्थानमा रहँदा १९ अंकको च्यासल युथ क्लब दोस्रो स्थानमा छ । एक खेल कम खेलेको एनआरटी १८ अंकसहित तेस्रो तथा १६ अंकको आरसीटी चौंथो स्थानमा छ ।


लिगमा एक अंकको महावीर क्लब पुछारमा रहँदा ७ अंकको सामाजिक रेलिगेसन क्षेत्रमा छ । नवौं चरणको अन्तिम खेलमा एनआरटी र आरसीटी भिड्न बाँकी छ । यो खेलपछि उपाधि भिडन्त अझ रोमान्चक बन्ने देखिएको छ । १४ टोली सहभागी लिगमा शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुँदा पुछारका दुई टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।


Share your thoughts: