एन्फा अध्यक्षका लागि नरेन्द्र र कर्मा भिड्ने

काठमाडौं,असोज ९  । अखिल नेपाल फुटबल संघ एन्फाको  अध्यक्ष पदको निवाचनका लागि कर्मा छिरिङ शेर्पाले उम्मेदवारी दर्ता गराएका छन्। पूर्व राष्ट्रिय फुटबलर तथा नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्मा पछि हटेपछि अब एन्फा अध्यक्षका लागि नरेन्द्र र कर्माबीच भिडन्त हुने भएको छ ।  

कर्माले आइतबार एन्फा कम्प्लेक्समा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। कर्मासँगै दिपक खातीले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। कर्मा एन्फाका उपाध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष हुन् भने 

खाती एन्फाका पूर्व केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय फुटबलर हुन् ।

गत शुक्रबार एन्फाका कार्यवाह अध्यक्ष नरेन्द्र लाल श्रेष्ठले अध्यक्ष र मणि कुँवरले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए। यस्तै राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंहले पनि शुक्रबारै उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन्।

अहिलेसम्म अध्यक्ष पदका लागि २ र उपाध्यक्ष पदका लागि ३ जनाको दाबेदारी परेको छ। अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका मनाङ मर्स्याङ्दी क्लबका पूर्व अध्यक्ष टाशी घलेले अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा गरिसकेका छन्।  कात्तिक ८ गते विशेष साधाराण सभामार्फत अध्यक्ष र उपाध्यक्षको रिक्त स्थानको लागि निर्वाचन हुँदैछ।

 फिफाले करिब दुई दशकदेखि एन्फा नेतृत्वमा रहेका गणेश थापालाई विभिन्न भ्रष्टाचार अभियोगमा १० वर्षको प्रतिबन्ध र करिब २१ लाख जरिवाना लगाए पनि पहिलोपटक नेपाली फुटबलको सर्वोच्च निकाय नेतृत्वको लागि चुनाव हुन लागेको हो। एन्फाको चुनावमा ४५ जिल्ला फुटबल संघ, १२ ए डिभिजन, ५ बी डिभिजन र ३ सी डिभिजन क्लवका साथै खेलाडी संघ, रेफ्री संघ, महिला संघ र प्रशिक्षक संघ गरी ६९ मतदाता छन् ।

Share your thoughts: