उपाधि जिताउने गोलकर्ता सुजलले भने- धन्यवाद भरत दाइ

काठमाडौं,मंसिर २ । एक बर्ष अघि कात्तिकमा नेपाली फुटबलका केही महत्वपूर्ण खेलाडीहरु म्याच फिक्सिङका कारण प्रतिबन्धमा परेपछि नेपाली फुटबल ओरालो लागेको अनुमान गर्नेहरु धेरै थिए । त्यस लगत्तै एन्फा अध्यक्ष गणेश थापालाई फिफाले प्रतिबन्ध लगाएपछि त अन्तर्राष्ट्रिय रुपमै नेपालको छवि निक्कै बिग्रियो ।

त्यसको दुई महिनापछि गत माघमा भारतको केरलामा भएको नवौ साफ च्याम्पियनसीपमा समूह चरणबाटै बाहिरिएपछि नेपाली फुटबल टोली म्याच फिक्सिङको हृयाङओभरबाट बाहिर निस्कन नसकेको आरोप पनि लगाइयो ।

नकारात्मक पाटोलाई एकातिर छाडेर भन्ने हो भने म्याच फिक्सिङ प्रकरणपछि नेपाली फुटबलमा क्षमतावान युवा खेलाडीहरुको आगमनको बाटो खुल्यो ।

साफ लगत्तै बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबलदेखि नेपाली फुटबलमा नवयुगको आरम्भ भयो । घरेलु फुटबलमा त्रिभुवन आर्मीबाट उत्कृष्ट प्रदर्शन गर्दागर्दै राष्ट्रिय टोलीबाट मौका नपाएका नवयुग श्रेष्ठले त्यस प्रतियोगितामा कमालै गरे ।

त्यसपछि गत फागुनमा नेपाली टोलीको अग्रपंक्तिको जिम्मेवारी पूर्णतः नवयुगको काँधमा आयो र त्यसलाई उनले धेरै हदसम्म निर्वाह गरे । कमजोर मानिएको नेपाली अग्रपंक्तिमा बिमल घर्तीमगर, अञ्जन विष्ट, नवयुग श्रेष्ठ लगायतका युवा र क्षमतावान युवा खेलाडीहरुको आगमनले धेरै सुधार भयो ।


हालै मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपको उपाधि जित्दा अर्का क्षमतावान स्ट्राइकर/मिडफिल्डरले पनि आफूलाई प्रमाणित गर्ने मौका पाए । एक उत्कृष्ट मिडफिल्डरको रुपमा उनले आफूलाई प्रमाणित गरे । त्यसभन्दा माथि फाइनलमा मकाउबिरुद्ध निर्णायक गोल गरेर उनी प्रतियोगिताकै नायक बने ।


सुजल श्रेष्ठ । २४ बर्षीय स्ट्राइकर/मिडफिल्डर सुजल श्रेष्ठले राष्ट्रिय टोलीको करीव ६ बर्षे अनुभवमा पूरै प्रतियोगिताभर टोलीको पहिलो टोलीबाट खेल्न पाएको यो पहिलो अवसर थियो ।

घरेलु फुटबलका महारथी क्लव मनाङ मर्स्याङ्दीबाट हरेक सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी राष्ट्रिय टोलीका प्रारम्भिक छनौटमा सधैं पर्छन् तर, अन्तिम छनौटमा परेपनि सुरुवाती टोलीमा पर्न असफल हुने उनको नियति थियो ।


सुजल भन्छन्, ‘घरेलु फुटबलमा जस्तै मेरो प्रदर्शन राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पनि उस्तै हुन्थ्यो । तर मैले अवसर कमै पाउथेँ । यसलाई मेरो दुर्भाग्य ठान्छु ।’


तर, यसपटकको प्रतियोगितामा भने उनी मलेसिया जानु अगाडिदेखि नै प्रतियोगिताको सुरुवाती टोलीमा पर्नेमा विश्वस्त थिए । उनका अनुसार ‘मलेसिया जानुभन्दा अगाडि भएका केहि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म प्लेइङ सेटमा थिएँ । प्रदर्शन पनि राम्रो भइरहेको थियो ।’


भरत दाइलाई धन्यबाद


समूह बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टीमा तीन शून्य गोलले पराजित गरेको थियो । त्यसमा पेनाल्टीमार्फत तेस्रो तथा बिजयी गोल सुजलले नै गरेका थिए ।


nepal


र फाइनल खेल । फाइनल मकाउबिरुद्धको थियो र यसअघि पनि पटक-पटक खेलिसकेको मकाउसँग नेपाल परिचित त थियो नै । ४-४-२ को फर्मेसनमा खेलाइएको खेलमा सुजललाई मिडफिल्डर विंगरको जिम्मेवारी थियो । वर्षाका कारण हिलाम्य मैदानमा नेपालले गोलका अवसरहरु सुरुदेखि अन्त्यसम्मै सृजना गरेको हो ।


तर, २९ औं मिनेटमा सुजल निक्कै भाग्यमानी सावित भए । पेनाल्टी एरियाको दायाँ क्षेत्रबाट स्ट्राइकर भरत खवासले मिलाइदिएको क्रसलाई उनले पाँच यार्ड नजिकबाट हेडमार्फत गोलमा परिणत गरे ।


सुजल भन्छन्, ‘भरत दाइले बल अघि बढाउने बित्तिकै मैले सोचेको थिएँ यो बल गोल हुन्छ, उहाँले क्रस फाल्नुभयो, हामी दुई-तीन जना राम्रो पोजिसनमा थियौं, संयोगले बल मेरै टाउकोमा आयो र गोल गर्न पाएँ ।’


उनले थपे, ‘नाम गोल गर्नेको मात्रै आउने हो पास मिलाउनेको नाम सुनिँदैन तर, फाइनलमा त्यस गोलका लागि मेरोभन्दा धेरै इफोर्ट भरत दाइको थियो । त्यसैले थ्याङ्क्यू भरत दाइ !’


दोस्रो अन्तर्राष्ट्रिय गोल


सोलिडारिटी कपको फाइनलमा मकाउबिरुद्ध गरेको गोल सुजलको दोस्रो अन्तर्राष्ट्रिय गोल हो । ६ वर्षे अन्तर्राष्ट्रिय करिअरमा उनले मात्र १३ क्याप जितेका छन् ।


एन्फा एकेडेमीको चौथो ब्याजका उत्पादन सुजलले २०६७ साल चैत्र २ गते पोखरामा भएको भुटानबिरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनी हरेकजसो अन्तर्राष्ट्रिय खेल तथा प्रतियोगिताका लागि प्राम्भिक छनौटमा पर्ने गरेका छन् । तर क्षमता देखाउने अवसर पाइरहेका थिएनन् ।


सन् २०११ मा काठमाडौंमै भएको विश्वकप छनौटको पहिलो चरणको खेलमा नेपालले पूर्वी टिमोरलाई पाँच-शून्यले हराउँदा सुजलको नाममा एक गोल थियो । त्यसपछि सन् २०१२ मा पनि उनले भारतमा भएको नेहरु गोल्ड कपमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए । त्यसयता केहि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा समावेश गरिएपनि ठूला प्रतियोगितामा उनी पहिलोपटक छनौट भएका हुन् ।


२०६६ सालमा एन्फा एकेडेमीबाट बाहिरिएपछि उनी संकटा क्लवमा आवद्ध भए । एक सिजन त्यहाँबाट खेलेका उनी २०६७ को सिजनदेखि मनाङ मर्स्याङ्दीको नीलो-आकाशे रंगको जर्सी पहिरिन थाले । ६ सिजन भयो मनाङबाट उनले खेलेको ।


मनाङले एक सहिद स्मारक ए डिभिजन लिग, दुईपटक पोखरा कप, एक-एक पटक एनसेल कप, आहारारा गोल्डकप तथा सिमरा गोल्डकपको उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । घरेलु फुटबलमा मनाङका टिममेट तथा अहिलेका कप्तान अनिल गुरुङसँग उनको तालमेल निक्कै राम्रो देखिन्थ्यो ।


अझै राम्रो खेल्ने लक्ष्य


सोलिडारिटी कपको नायक बनेका युवा स्ट्राइकर सुजल आफ्नो प्रदर्शन अझै सुधार गर्नेमा विश्वस्त छन् । ‘एकपछि अर्को प्रदर्शनमा मेरो प्रदर्शन सुधार हुँदै गइरहेको छ र मलाई लाग्छ म अझै राम्रो खेल्न सक्छु,’ उनले भने ।


यसका लागि टिममेट र प्रशिक्षकको साथ सहयोग अपरिहार्य हुने उनको बुझाइ छ । ‘यस प्रतियोगितामा कोचले मेरो प्रदर्शन बुझ्नुभएकैले मैले मौका पाएको हुँ । उहाँहरुको हौसला र प्रेरणा भइरहन्छ भने मेरो प्रदर्शनमा अझै सुधार आउनेछ ।’


नेपाली फुटबलमा रक्षाप्रंक्तिको प्रदर्शन राम्रो रहेपनि अग्रपंक्तिमा त्यति उत्कृष्ट खेल्न नसकेकोमा आलोचना हुन्थ्यो । तर पछिल्ला तीन प्रतियोगितामा नेपालले अग्रपंक्तिमा पनि निक्कै सुधार गरेको छ ।


उनी भन्छन्, ‘सुधार अझैपनि गर्नुपर्छ । नेपालको यो टोली निक्कै क्षमतावान छ, यसको अर्थ अघिल्लो जेनेरेसन त्यस्तो थिएन भन्ने होइन, तर अहिलेको टोलीमा युवाहरुको बर्चश्व छ र क्षमतावान पनि छन् ।’

-अनलाइनखबर

Share your thoughts: