विमलले पेनाल्टी चुकाएपछि एपिएफलाई सुरुङ्गा गोल्डकपको उपाधि

झापा,मंसिर ११ । झापाको सुरुङगामा चलिरहेको सहारा सुरुङ्गा गोल्डकप फुटवलको उपाधि सशस्त्र प्रहरीको एपिएफले जितेको छ । विमल घर्ती मगरले पेनाल्टी चुकाएपछि एपिएफले रुपन्देहि एघारलाई हराउँदै सुरुङ्गा गोल्डकपको उपाधि जित्न सफल भएको छ । आज भएको फाइनल खेलमा निर्धारित ९० मिनेटको खेल १-१को बराबरीमा सकिएपछि खेलको नतिजा निर्धारण गर्न टाइब्रेकरको सहायता लिनुपरेको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले सुन्दर मौकाहरु सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।

दोश्रो हाफमा राजेन्द्र रावलले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। तर, एपिएफको अग्रता धेरै समय टिकेन। रञ्जित धिमालको पासलाई सदुपयोग गर्दै बिमल घर्ती मगरले खेललाई बराबरीमा ल्याए। दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो।

एपिएफका लागि अन्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र सन्तोष कटुवालले टाइब्रेकरमा गोल गरे भने रुपन्देहिका विजय धिमाल,रञ्जित धिमाल र विक्रम लामाको प्रहार गोलमा परिणत भयो। बिमलको प्रहार भने एपिएफका अमृत चौधरीले बचाएका थिए।

Share your thoughts: