म्यानचेस्टर युनाइटेडले पहिलो पटक युरोपा लिग फुटबलको उपाधि

काठमाडौं -इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले पहिलो पटक युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा डच क्लब  आयाक्सलाई २ – ० ले पराजित गर्दै युनाइटेडले पहिलो युरोपा लिगको उपाधि जितेको हो ।

स्वीडेनको सलोनामा भएको फाइनलमा युनाइटेडलाई उपाधि दिलाउन पाउल पोग्बा र हेन्रिक मिखीटारियनले समान एक एक गोल गरे । युरोपा लिगको उपाधि जितेसँगै जोसे मोरिन्होको टोली युनाइटेडले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने भएको छ । युरोपा लिग जित्ने टोलीले च्याम्पियन्स लिगको समुह चरणको खेल्न पाउने प्राबधान छ ।

फ्रेन्ड्स एरिनामा भएको खेलमा युनाइटेडले दुवै हाफमा समान एक एक गोल गर्दै उपाधि पक्का गर्यो । खेलमा युनाइटेडले १८ औं मिनेटमा पोग्बाको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफमा १ – ० ले अघि रहेको युनाइटेडले दोस्रो हाफको सुरुवातमै अग्रता दोब्बर बनायो । दोस्रो हाफको ४८ औं मिनेटमा मिखीटारीयनले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । बल पोजिसनमा पकड बनाएपनि नेदरल्यान्डको क्लब आयाक्सले गोलको अवसर सिर्जना गर्न सकेनन् । आयाक्सको केहि प्रहार युनाइटेडका किपर सर्जियो रोमेरोले विफल बनाए ।  त्यसपछि थप गोल हुन् सकेन र युनाइटेडले उपाधि पक्का गर्यो ।

यो सिजन प्रिमियर लिगमा छैटौं भएको युनाइटेडको यो सिजनको दोस्रो उपाधि हो । युनाइटेडले यसअघि इन्ग्लिश फुटबल लिग कपको उपाधि जितेको थियो । यस्तै युनाइटेडले मुख्य प्रतियोगिताको उपाधि संख्या ४५ पुराएको छ । जुन इन्ग्लिश क्लबमध्ये सबैभन्दा धेरै उपाधि हो । यता, आयाक्स भने सन् १९९६ पछि पहिलोपटक युरोपियन क्लब फुटबलको फाइनलमा पुगेको हो । आयाक्सले सन् १९९२ मा युईएफए कपको उपाधि जितेको थियो ।  युरोपा लिगको सेमिफाइनलमा युनाइटेडले स्पेनिस क्लब सेल्टा डि भिगोलाई पराजित गर्दै फाइनलमा पुगेको हो भने आयाक्सले ओलम्पिक लियोनलाई पाखा लगाएको थियो ।

Share your thoughts: