एन्फाको कार्यसमिति बैठक साउन अन्तिम साता

काठमाडौं, साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ अध्यक्ष निर्वाचनका लागि कार्यसमिति बैठक डाकेको छ । एन्फाले नयाँ अध्यक्ष निर्वाचनका लागि साधारणसभाको मिति तोक्न साउन ३२ गते कार्यसमिति बैठक बोलाएको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको उपलब्ध पदाधिकारी बैठकले १४ दिने म्याद राखेर ३२ गते कार्यसमिति बैठक बोलाएको हो ।

एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले साधारणसभाको मिति निर्धारण र अध्यक्षको चुनावको एजेन्डा राखेर कार्यसमिति बैठक बोलाइएको बताए । एन्फामा गणेश थापाको बहिर्गमनपछि अध्यक्षको चुनाव हुन सकेको छैन । पुनर्बहाली भएका एन्फाका चार पदाधिकारीले पनि साधारणसभाको माग गर्दै आएका थिए । साधारणसभा गर्न बाटो खुलेको भन्दै पुनर्बहाली भएका उपाध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फा निर्णयको स्वागत् गरेका छन् । 

फिफाको इथिक्स कमिटीले भ्रष्टाचार अभियोगमा गत वर्षको कात्तिकमा अध्यक्ष थापालाई फुटबलका सबैखाले गतिविधिबाट १० वर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवाना गरेपछि अहिले एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको भरमा चलिरहेको छ । त्यस्तै तत्कालिन कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि एन्फाको उपाध्यक्ष पद पनि रिक्त रहेको छ  ।

Share your thoughts: