मेस्सी टिममा फर्कनेमा प्रशिक्षक आशावादी, फर्किएलान त मेस्सी?

एजेन्सी,साउन १८ । अर्जेन्टिनाका नवनियुक्त प्रशिक्षक एडगार्डो बाउजाले लिओनल मेस्सी फेरि राष्ट्रिय टिममा फर्कने आश गरेको बताएका छन् । ब्राजिलियन क्लब साओ पाउलोका प्रशिक्षक समेत रहेका बाउजा सोमबार नियुक्तभएसँगै मेस्सी टिममा फर्कनेमा आफु ढुक्क रहेको बताएका हुन् । उनले मेस्सीलाई आफ्नो आइडिया शेयर गर्ने इच्छा रहेको बताएका छन् । साथै आफ्नो चिन्ता मैदानमा मेस्सीको पोजिसनलाई लिएर रहेको भन्दै भने, ‘मेस्सीलाई सम्झाइरहनु पर्दैन । फुटबलबारे कुरा गर्ने योजना मात्र छ ।’

मेस्सीले केही समय अघि सन्यासको घोषणा गरेका थिए । उनलाई सन्यासको घोषणा फिर्ता लिन लगातार दबाव आइरहेको छ । बाउजाको प्रशिक्षणमा अर्जेन्टिनाले सेप्टेम्बरमा विश्वकप छनौट खेल्दैछ । उसले उरुग्वेसँग घरेलु मैदानमा र भेनेजुएलासँग उसकै मैदानमा खेल्नेछ । अर्जेन्टिना १० दक्षिण अमेरिकी समूहमा ६ खेलबाट ११ अंकका साथ तेस्रो स्थानमा छ । उरुग्वे र इश्वेडर २ अंकले अगाडि छ । समूहको शीर्ष चार टिम २०१८ को विश्वकपका लागि छनौट हुनेछन् ।

Share your thoughts: