म्यानचेस्टरले पोग्बा भित्राउन विश्व कीर्तिमानी रकम खर्चियो

एजेन्सी,साउन २४ । म्यानचेस्टर युनाइटेडले युभेन्ट्सका फ्रेन्च मिडफिल्डर पाउल पोग्बाका लागि  विश्व कीर्तिमानी १० करोड स्टर्लिङ पाउन्ड (१३ करोड १० लाख अमेरिकी डलर) खर्चिने भएको छ। म्यानचेस्टरले क्लब स्थानान्तरणका लागि मात्र इटालीको लिग च्याम्पियन क्लब युभेन्ट्सलाई ८ करोड ९० पाउन्ड तिर्न राजी भइसकेको छ।  उनलाई क्लबमा भित्र्याउन एजेन्टलगायत अन्य खर्च जोडेर १० करोड पाउन्ड पुग्नेछ। म्यानचेस्टरले यही साताको मध्यमा उनीसँग सम्झौता–पत्रमा हस्ताक्षर गर्नेछ। यसपछि उनी स्वास्थ्य परीक्षणमा सहभागी हुनेछन्। २३ वर्षीय यी खेलाडीको स्वास्थ्य परीक्षण केही दिनभित्र हुँदैछ। यसपछि क्लबले साताको बीचमा सम्झौता पत्रमा हस्ताक्षर गर्नेछ। 
 
सन् २०१२ मा म्यानचेस्टरले १५ लाख पाउन्डमा पोग्बालाई बेचेको थियो। आफूले चार वर्षअघि सस्तोमा बेचेको यिनै खेलाडीलाई म्यानचेस्टरले विश्व कीर्तिमानी रकममा क्लमा पुनः भित्र्याउन लागेको हो। उनलाई खर्चिन लागेको रकम ग्यारेथ बेलको भन्दा निकै बढी हो। २०१३ मा रियल म्याड्रिडले ग्यारेथ बेललाई ८ करोड ५० लाख पाउन्ड खर्चिएको थियो। जुन अहिलेसम्मकै विश्व कीर्तिमानी रकम हो। इङ्लिस क्लबले २० वर्षको दौरान पहिलोपल्ट विश्व कीर्तिमानी रकम खर्चिन लागेको हो।
 

Share your thoughts: