नारायणगढ चौथो नेपाल कप फुटबलको क्वाटरफाईनलमा

काठमाडौं,साउन २४ । रुपन्देही –११ लाई २ – १ गोल अन्तरले पराजित गर्दै नारायणगढ फुटबल क्लब चौथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नारायणगढलाई जिताउने क्रममा खेलको ५ औं मिनटमा सुमन श्रेष्ठले पेनाल्टी मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । रुपन्देहीका कमल थापाले डी बक्समा नारायणगढका खेलाडीलाई लडाए पछि रेफ्री नविन्द्र महर्जनले पेनाल्टी प्रदान गरेका थिए । निकैनै राम्रो खेल प्रदर्शन गरेको रुपन्देहीले पहिलो हाफमा गोल गर्ने राम्रो अवसरलाई सदुपयोग गर्न सकेन ।

क्याम्पाचौरको फुटबल मैदानमा भएको प्रतियोगितमा रुपन्देहीले खेलमा फर्कन दोश्रो हाफ कुर्नु परेको थियो । खेललाई बरावरीमा ल्याउन दोश्रो हाफको पहिलो मिनटमा डी बक्समा पाएको बललाई कुनै गल्ति नगरी सरोज थापाले जाली चुमाए पछि खेल बराबरीमा पुगेको थियो । तर दोश्रो हाफको ३६ औं मिनटमा म्यान अफ द म्याच तेजेन्द्र चौधरीले कर्नर किकलाई सदुपयोग गर्दै हेड मार्फत गोल गर्दै  नारायणगढलाई विजयी गराए ।
यस अघि प्रतियोगिताको प्रमुख अतिथी सभासद् विक्रम पाण्डेले रेफ्री नविन्द्र महर्जनलाई बल प्रदान गर्दै उद्घाटन गरेका थिए । उनले प्रतियोगितामा प्रथम हुने टिमलाई आफ्नो तर्फबाट १ लाख १ हजार नगद पुरस्कार प्रदान गर्ने बताए ।

प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजयी टिमले नगद ३ लाख र उपविजयी टिमले २ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । 

Share your thoughts: