ब्वाईज युनियनलाई हराँउदै एपिएफ सेमिफाइनलमा,अबको प्रतिद्वन्दी पुलिस

चितवन,साउन २८ । चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सेमिफाइनलमा पुलिसलाई प्रतिद्वन्दी पाएको छ । स्पोर्टस् फर अल क्लबको आयोजनामा भएको प्रतियोगितको क्वाटरफाईनलमा ब्वाईज युनियनलाई ४ – १ गोल अन्तरले पाखा लगाउंदै एपिएफले सेमिफाइनल यात्रा तय गरेको हो । एपिएफका लागि २० औं मिनटमा अन्जन विष्टले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । 

यस्तै खेलको ४५ औं मिनटमा नविन लामाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारे । गोल संख्यालाई बढाउने क्रममा खेलको दोश्रो हाफको ७ औं मिनटमा आदित्य चौधरीले हानेको फ्रि किकलाई हेड मार्फत गोल गर्दै टोलीलाई वियय नजिक पु-याए । दोश्रो हाफको अतिरिक्त समयको तेश्रो मिनटमा युवराज खड्काले चौथो गोल गर्दै टोलीको जितलाई निश्चित गरे ।

म्यान अफ द म्याच अन्जन बिष्टले थुप्रै गोल गर्ने अवसरलाई चुकाएका थिए । ब्वाईज युनियनको लागि एक मात्र सान्त्वना गोल संदीप मैनालीले गरे । उनले दोश्रो हाफको २२ औं मिनटमा विजय पौडेलले डिबक्स बाट हानेको बल गोल पोष्टको बारमा लागेर फर्किए पछि कुनै गल्ति नगरि जाली चुमाए थिए । प्रतियोगिताको पहिलो सेमिफाइनल त्रिभुवन आर्मी क्लब र एनआरटिकाविच शुक्रबार हुने कार्यक्रम रहेको छ । 

Share your thoughts: