राष्ट्रिय कराते प्रतियोगिता कार्तिकमा

काठमाडौं - नेपाल कराते महासंघको आयोजनामा आउँदो कार्तिक २३ देखि २५ गतेसम्म काठमाडौं स्थित दशरथ रंगशाला कभर्डहलमा राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ। साग खेलकुद इतिहासमा हालसम्म नेपाललाई २० वटा स्वर्णपदक दिलाएको करातेको राष्ट्रिय टोली निर्माणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको महासंघले जनाएको छ।

२०१८ मा हुने १८ औं एसियाली खेलकुद, नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद र २०२० को ओलम्पिकलाई मध्यनजर राख्दै खेलाडी तयार पार्ने उदेश्यले राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागिएको महासंघका अध्यक्ष दावा गुरुङले बताए। तीन दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टोलीका गरी २ सय १० खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। ती मध्ये एक सय महिला र एक सय दश पुरुष खेलाडी रहने आयोजकले जनाएको छ।

राष्ट्रिय प्रतियोगितामा महिलाका ६ तथा पुरुषका ७ तौल समूह, एकल र टिम कातामा प्रतिस्पर्धा हुनेछ। हरेक टोलीबाट तौल समूहमा एक–एक जना र कातामा गरि२१ जना खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक दिपक श्रेष्ठले जानकारी दिए।

२९ लाख बजेट अनुमान गरिएको प्रतियोगिताको प्रदेशिक टिम छनौटका लागि प्रत्येक प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरिने अध्यक्ष गुरुङले बताए। प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा महासंघले १० औं सागकी स्वर्ण पदक विजेता खेलाडी सुलोचना सुजाख्यलाई समेत सम्मान गरेको थियो।

Share your thoughts: