शीतयुद्धको छायाँमा ओलम्पिक

काठमाडौं । खेलकुद सभ्यताको दर्पण हो। समृद्धि र संस्कारको मापक पनि। विश्वलाई जोड्ने माध्यमका रूपमा खेलकुद लिने गरिन्छ। अमेरिका र चीनबीचको खराब सम्बन्ध टेबलटेनिसले जोडेको 'पिङपङ डिप्लोमेसी' विश्व खेलकुद/राजनीति इतिहासमा चर्चित छ। यसैगरी भारत र पाकिस्तानको पानी बाराबारको अवस्था मत्थर पार्न क्रिकेटले खेलेको भूमिकाबाट विश्व खेलजगत अनविज्ञ छैन। त्यसैले खेलकुदलाई भाइचारा र मित्रताको माध्यम भनिएको हो।


कूटनीतिक सम्बन्ध नरहेका दुई देशबीच पनि खेलकुदमा छुवाछुत चल्दैन। अन्तर्राष्ट्रिय प्रतियोगिताको मैदानमा भेट हुँदा हात नमिलाउने छुट खेलकुदमा हुँदैन। खेलकुदले तमाम समस्याबीच पनि सकारात्मक हुन सिकाउँछ। अगाडि बढ्न प्रेरित गर्छ। घृणा र कटुता पखाल्दै प्रेम र सद्भाव स्थापित गर्छ। विपक्षी घाइते भयो भने आफ्नो जितमा खुसी मनाउन पनि खेलभावनाले दिँदैन। ब्राजिलको रियो दी जेनेरियोमा भर्खरै विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिक सम्पन्न भएको छ, केही खेलभावना र केही प्रतिशोध भावना आत्मसात गर्दै।


उसेन बोल्टले लगातार तेस्रोपटक तीन फरक स्पर्धामा स्वर्ण पदक जितेर अनुपम कीर्तिमान बनाए। जमैकाका धावक बोल्टले १ सय, २ सय र ४ गुणा १ सय मिटर दौडमा स्वर्ण पदक जिते। यी तीनै स्पर्धामा उनले ओलम्पिक स्वर्ण जितेको यो लगातार तेस्रो संस्करण हो। यसैगरी अमेरिकी पौडीवाज माइकल फेल्पस, बेलायतका धावक मो फराह, अमेरिकाकै जिम्न्यास्टिक खेलाडी सिमोन बाइल्स र ब्राजिली फुटबलका सुपरस्टार नेइमार ओलम्पिकमा सफलताको शिखर आरोहण गर्न सफल भए। फेल्पसले रियोका पोखरीमा यसपालि पाँच स्वर्ण पदक थपेर ओलम्पिक इतिहासमा कुल व्यक्तिगत स्वर्ण पदकसंख्या २३ पुर्‍याए। सोमालियामा जन्मिएका मध्यम दुरीका बेलायती धावक फराहको सफलता कथा पनि कम रोचक रहेन। चार वर्षअघि लन्डनमा जितेको ५ हजार र १० हजार मिटर दौडको स्वर्ण पदक रक्षा गर्दै उनी यस्तो सफलता हासिल गर्ने दोस्रो खेलाडी बने। यसअघि फिनल्यान्डका लासे भिरेनले १९७२ र १९७६ का ओलम्पिकमा लगातार ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए। बाइल्सका लागि रियो ओलम्पिक पहिलो ठूलो सहभागिता थियो। ओलम्पिक डेब्युलाई नै स्मरणीय बनाउने क्रममा १९ वर्षकी जिम्न्यास्टले चार स्वर्ण पदक जितेर यस्तो सफलता हालिस गर्ने इतिहासकी पाँचौं खेलाडी बनिन्। नेइमारको सफलता अझ भावुक थियो। विश्व फुटबलमा सबैभन्दा सफल ब्राजिलले ओलम्पिक फुटबलमा अहिलेसम्म स्वर्ण पदक जित्न सकेको थिएन। विश्वकपमा पाँचपटक उपाधि जितेर कीर्तिमान बनाए पनि ओलम्पिकमा भने ब्राजिली फुटबल सधँै असफल रहँदै आएको थियो। यसपालि बार्सिलोनाका सुपरस्टार नेइमारको प्रेरणामा ब्राजिलले घरेलु मैदानमा पहिलोपटक फुटबलको स्वर्ण पदक जित्यो। जसले राजनीतिक तथा आर्थिक रूपमा समस्याग्रस्त देशमा ओलम्पिक आयोजनाकै विपक्षमा रहेका ठूलो संख्याका जनताको आक्रोशसमेत धेरै हदसम्म मत्थर पार्‍यो।


खेलकुद सफल हुन सिकाउने कला हो। आफू पराजित भए पनि नतिजा सहजै स्वीकार्न सिकाउने माध्यम हो। विपक्षीको सम्मान गर्ने सभ्यता हो। नियमको परिधिभित्र अनुशासित भएर लगातार सफलताका लागि मिहिनेत गर्नुपर्ने क्षेत्र हो। सफलतामा नमात्तिने र असफलतामा हरेस नखाने जीवन दर्शन हो। स्टारहरू उत्पादन गरेर नयाँ पुस्तालाई सकारात्मक बाटोका लागि प्रेरित गर्ने विश्वविद्यालय हो। यसअर्थमा बोल्ट, फेल्पस, फराह, बाइल्स र नेइमारहरू विश्वभर चर्चाको शिखरमा रहनुपर्ने थियो। करोडौं बालबालिकाको आदर्श हुनुपर्ने थियो। तर, दूर्भाग्य यसपालिको ओलम्पिक सफलताका यस्ता कथाभन्दा पनि खेलमा गरिएको झेल र विश्व राजनीतिको कठोर पक्षका लागि सम्भि्कइने छ।


शनिबार रियोको माराकाना रंगशालामा चार वर्षपछि टोकियोमा भेट्ने वाचासहित भव्य समारोहबीच ओलम्पिकको समापन भयो। विश्वभरका २ सय ३ देशका ११ हजारभन्दा बढी खेलाडीले ब्राजिलको आतिथ्य ग्रहण गरे। जहाँ सफलताको कालजयी कथा रच्नेभन्दा पनि बढी रुसकी युलिया इफिमोभा चर्चित भइन्। खासमा डोपिङ प्रकरणमा दोषी साबित भएर प्रतिबन्धमा परेकी उनी कोर्ट अफ आर्बिट्रेसन (सिएएस) को निर्णयपछि अन्तिम समयमा मात्र प्रतिस्पर्धाका लागि लायक भएकी थिइन्। तर महिला १०० मिटर ब्रेस्टस्ट्रोकको फाइनलमा अमेरिकी युवा खेलाडी लिले किङ र केटी मेलीले इफिमोभालाई डोपिङ काण्डको प्रतीकका रूपमा व्याख्या गरेपछि समस्या बल्भि्कयो।


१९७० र १९८० को दशकमा भएको शीतयुद्धले ओलम्पिकमा पारेको असर रियोमा पनि झल्कियो। अमेरिकी र रुसी पौडी खेलाडीबीचको विवादले शीतयुद्धको दोस्रो संस्करणलाई औपचारिक सुरुआत दियो। सरकारकै सहयोगमा रुसी खेलाडीहरूले पछिल्ला अन्तर्राष्ट्रिय खेल मेलाहरूमा भएका डोपिङ अपराध प्रमाणित भएपछि अमेरिकाले रुसलाई रियो ओलम्पिकमा सहभागिताबाट प्रतिबन्ध लगाउनुपर्ने बताएपछि खेलका दुई शक्तिशाली राष्ट्रबीचको विवाद नवीकरण भएको थियो। बेलायत, अस्ट्रेलिया, फ्रान्स, जर्मनीजस्ता देश अमेरिकाको पक्षमा तत्कालै खुलेर लाग्दा यही बहानामा ओलम्पिक सुरु हुनुपूर्व विश्व राजनीति चलायमान भयो। तर यसको सबैभन्दा ठूलो असर भने महिला १०० मिटर ब्रेस्टस्ट्रोक फाइनलमा देखियो।


ओलम्पिकमा कमैमात्र देखिने खेल भावना विपरीतका दृश्य त्यहाँ देखिए। इफिमोभालाई विपक्षी खेलाडीमात्र नभई दर्शकले पनि गिज्याए। ओलम्पिक एक्वाटिक एरिनामा अमेरिका अमेरिकाले गुन्जिँदा थोरैले अमेरिकी प्रतिस्पर्धी किङलाई स्वर्ण पदक सुम्पेकी इफिमोभाले रजत पदक जितिन्। अमेरिकाकै मेलीले कांस्य पदक जितिकी थिइन्।


‘मलाई आफूले बोलेका कुरामा कुनै पछुतो छैन। खेलमा पनि म पहिलो भएकी छु, त्यसैले म यसमा गौरव गर्छु,’ इफिमोभालाई अपमान गर्दै किङले भनिन्, ‘मैले धेरै साहस गरेर सबै खेलाडीको भावना बाहिर प्रकट गरेकी हुँ। रजत पदकका लागि म इफिमोभालाई बधाई दिन्न। उनको ठाउँमा म भएको भए पनि बधाई आश गर्थिनँ। उनले त्यस्तो आश गरेकी भए म क्षमा चाहन्छु।’


किङबाट अपमानित इफिमोभा पत्रकारसँग बोल्ने क्रममा भक्कानिइन्। तर अमेरिकामै बसोबासका साथै प्रशिक्षण गर्दै आएकी इफिमोभाले आफू विश्व राजनीतिको सिकार भएको भन्न धक मानिनन्। 'खेलकुद राजनीतिबाट टाढा हुनुपर्ने थियो। खेलाडीले एकअर्काको समस्या बुझ्नुपर्ने थियो तर यो ओलम्पिकमा राजनीतिले प्रवेश पाएको छ। म रुसी खेलाडी भएकैले खेलाडी, समर्थक र मिडियाबाट पनि मैले दबाब सामना गर्नुपर्‍यो,' उनले दुःख पोखिन्, 'खेलकुदका लागि यो दूर्भाग्यजनक कुरा हो। ओलम्पिकमा यस्तो नहुनुपर्ने थियो। यसले त मानिसलाई एकताको सूत्रमा गाँस्नुपर्ने थियो। तर रियो ओलम्पिक एउटा स्वच्छ प्रतिस्पर्धा थिएन, यो त युद्ध थियो। एउटा शीतयुद्ध। त्यसैले त ओलम्पिकमा सबै युद्ध समेत रोकिनुपर्ने ठाउँमा उनीहरू खेलाडी प्रयोग गरेर रुसलाई हराउने बाटो खोजिरहेका छन्।'


रुसी खेलाडीको अपमान गर्ने दौडमा अमेरिकाका पौडीवाज फेल्पस पनि सामेल थिए। रुसप्रतिको आक्रोश पोख्ने क्रममा फेल्पसले भनेका थिए, 'डोपिङमा मुछिएकाहरू निर्वाध रूपमा ओलम्पिक खेलिरहेका छन्। यो दुःखको कुरा हो। खेलभावना विपरीतको काम हो। खेलक्षेत्र दागरहित हुनुपर्छ। तर हामी दुई दुईपटक डोपिङ परीक्षणमा असफल भएकाहरूसँग प्रतिस्पर्धा गरिरहेका छौं।'


सरकारकै सहयोमा योजनाबद्ध रूपमा भएका डोपिङ अपराधमा रुसलाई रियो ओलम्पिकबाट हटाउनुपर्ने माग अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले अघिल्लो महिना अस्वीकार गरेको थियो। रुस आफैले सञ्चालन गर्ने सोची ओलम्पिक ल्याबको समेत दुरुपयोग गर्दै रुसी खेलाडीले योजनाबद्ध लागूऔषध प्रयोग गरेको अनुसन्धानले देखाएको थियो। त्यसका कारण विश्व खेलकुदलाई पारदर्शी, स्वच्छ प्रतिस्पर्धात्मक र विसंगतिमुक्त बनाउने अभियानमा आइओसीमाथि कडा कारबाही गर्ने दबाब बढेको थियो। तर आइओसीले आफै निर्णय नगरी फरक खेलमा सम्बन्धित खेलका अन्तर्राष्ट्रिय महासंघलाई निर्णयको जिम्मेवारी सुम्पेको थियो। आइओसीको उक्त निर्णय पश्चिमा मुलुक तथा लागूऔषध नियन्त्रणसम्बन्धी नियमनकारी निकाय वाडाका पदाधिकारीहरूबीच आलोचनाको विषय बनेको थियो।


रुसले रियो ओलम्पिकमा सहभागिताका लागि ३ सय ८७ खेलाडीको नाम दर्ता गराएको थियो। तर विभिन्न अन्तर्राष्ट्रिय महासंघको प्रतिबन्धका कारण रुसबाट २ सय ७१ खेलाडीले मात्र रियोमा प्रतिस्पर्धा गर्न पाए। प्रारम्भिक परीक्षणमा दोषी देखिएर प्रतिबन्ध भोगे पनि अपिलमा सफलता हासिल गर्दै अन्तिम अवस्थामा खेल्न पाएकी इफिमोभाले प्रतिस्पर्धाको मैदानमा आत्मसम्मान गुमाएको महसुस गरिन् र 'यो ओलम्पिक नभई शीतयुद्ध हो' भन्न बाध्य भइन्।


शीतयुद्ध १.०


दोस्रो विश्वयुद्धलगत्तै सुरु भएको शीतयुद्ध १९९१ मा सोभियत युनियनको पतनपछि समाप्त भएको थियो। तत्कालीन सोभियत युनियन विभिन्न टुक्रामा विभाजित हुँदा अमेरिका, बेलायत, फ्रान्सलगायत अन्य पश्चिमा मुलुकको उद्देश्य पूरा भएको थियो। सोभियत युनियनको महाशक्ति हैसियत समाप्तिसँगै शीतयुद्ध सकिएको थियो।


दोस्रो विश्वयुद्धको समाप्तिपछि अमेरिका र सोभियत युनियन विश्वका दुई सर्वशक्तिमान देश थिए। दुईलाई 'सुपरपावर' को नामले पुकारिन्थ्यो। विश्वयुद्ध समाप्तिपछि अमेरिका र सोभियत युनियनबीच 'विचार' को युद्ध सुरु भयो, जसले पूरा विश्वलाई दुई ध्रुवमा विभाजन गर्‍यो। हतियार चलेका थिएनन्, भौतिक रूपमा कुनै द्वन्द्व थिएन। त्यसैले यसलाई शीतयुद्धको नाम दिइयो।


सोभियत युनियन कम्युनिष्ट देश थियो, जहाँ सरकारले नै उत्पादन तथा अन्य स्रोतमा नियन्त्रण राख्थ्यो। जनताले कहाँ बस्ने र के काम गर्ने पनि सरकारकै निर्णयमा भरपर्थ्यो। ठिक विपरीत पुँजीवादी व्यवस्थाको अमेरिकामा जनता र व्यवसायीले उत्पादनमा नियन्त्रण राख्थे। के काम गर्ने र कहाँ बस्ने जनताको आफ्नै इच्छामा निर्भर रहन्थ्यो। आ–आफ्नो राजनीतिक विचारको प्रभाव विश्वभर जमाउने अभीष्टमा शीतयुद्ध हुँदा पूर्वी युरोपमा सोभियत युनियनको नियन्त्रण थियो। पूर्वपट्टिको आधा जर्मनी (राजधानी बर्लिनको आधा भागसँगै) मा सोभियत युनियनको प्रभाव थियो। अमेरिका, फ्रान्स र बेलायत अर्को पक्षमा थिए। जर्मनीको पश्चिमी भागसहित पश्चिमी युरोपमा पुँजीवादीहरूको प्रभाव थियो।


सोभियत युनियनले १९४८ मा बर्लिनको मध्यभागमा पर्खाल लगाएर पश्चिमी भागतिर जाने बाटो तथा रेलमार्ग रोक्यो। जसका कारण बेलायत, अमेरिका र फ्रान्सले जहाजबाट पश्चिम बर्लिनलाई अत्यावश्यक सामाग्री पुर्‍याउनुपर्‍यो। जुन 'बर्लिन एयरलिफ्ट' का नामले विश्व राजनीतिमा चर्चित छ। दोस्रो विश्वयुद्धपछि कोरिया पनि उत्तर र दक्षिण कोरियाको नाममा दुई चिरा पर्‍यो। उत्तर कोरियामा कम्युनिष्ट शासन थियो। दक्षिण कोरियाले भने पँुजीवादी व्यवस्था अंगालेको थियो। उत्तर कोरियाली सेनाले दक्षिण कोरियामाथि धावा बोल्दा अमेरिकाले दक्षिणलाई सघायो। चीन भने उत्तर कोरियाको पक्षमा उभियो। जसका कारण युद्धरत दुई देशबीच शक्ति सन्तुलनको अवस्था आयो। कुनै पनि देशले नजितीकन १९५३ मा युद्ध समाप्त भयो। तर अझैसम्म पनि दुई देश एक भएका छैनन्। यसैगरी क्युबामा पनि कम्युनिष्ट शासन भएका कारण केही समय तनाव सिर्जना भयो। पँुजीवादी र कम्युनिस्टका नाममा दुई चिरा परेको विश्वमा तेस्रो महायुद्धको कारण क्युबा होलाजस्तो भयो, तर त्यो पनि शीतयुद्धमै सीमित भयो।


शीतयुद्ध र ओलम्पिक


शीतयुद्धका क्रममा खेलाडीले देशका लागि पदक जित्न भन्दा पनि अर्कै उद्देश्यका लागि प्रतिस्पर्धा गर्थे। त्यो प्रतिस्पर्धा शक्ति प्रदर्शन गर्दै आफ्नो देशलाई सर्वोत्कृष्ट देखाउने होड हुने गर्थ्यो। पदक जित्नुलाई आफ्नो देश बलियो रहेको र अरुभन्दा राम्रो रहेको प्रमाणका रूपमा लिइन्थ्यो। अमेरिका र रुसबीचको द्वन्द्व उत्कर्षमा थियो। त्यसैले भौतिक युद्ध नभएको अवस्थामा दुवै देश खेलकुदमार्फत अर्कोलाई तल पार्न चाहन्थे। सबैजसो देशहरू आफूलाई सभ्य, समृद्ध र शक्तिशाली साबित गर्न ओलम्पिक खेलकुदको उपयोग गरिरहेका थिए। सतही रूपमा हेर्दा यो देश–देशबीचको प्रतिस्पर्धा जस्तो देखिए पनि खासमा पँुजीवाद र समाजवाद (कम्युनिजम) बीचको द्वन्द्व थियो। आफूले अख्तियार गरेको राजनीतिक व्यवस्थाको औचित्य पुष्टि गर्न अमेरिका र रुसको नेतृत्वमा दुई चिरा परेका देशहरू ओलम्पिकमार्फत आफ्नो सम्भावना देखाउन चाहन्थे।


जसले खेललाई खेलभावनाबाट च्यूत गर्‍यो। शीतयुद्धको प्रस्ट प्रभाव खेलकुदमा पनि पर्‍यो। एउटा देशको कुनै राजनीतिक कदमको विरोधमा थुप्रै देशले आफूलाई ओलम्पिकबाट अलग गरे।


सोभियत युनियनले अफगानिस्तानबाट आफ्नो सेना नहटाएका कारण दबाबस्वरुप अमेरिकाले १९८० को ओलम्पिक बहिस्कार गर्‍यो। तत्कालीन अमेरिकी राष्ट्रपति जिमी कार्टरले मस्को ओलम्पिक १९८० मा अमेरिकी टोली सहभागी नहुने घोषणा गर्दै 'स्वतन्त्रतामा विश्वास' गर्ने अरु देशलाई पनि नजान आह्वान गरे। कार्टरको आह्वानअनुसार अमेरिका बाहेक अरु ६५ देशले पनि ओलम्पिक खेल्न रुसको भ्रमण गरेनन्। जसका कारण १९६४ यता ओलम्पिकमा सबैभन्दा कम ८० देशको मात्र सहभागिता रह्यो।


आफूले आयोजना गरेको ओलम्पिकमा अमेरिकी नेतृत्वमा धेरै देशले बहिस्कार गर्दा रुसलाई चोट पुगेको थियो। चार वर्षपछि अमेरिकाले गरेको लस एन्जल्स ओलम्पिक १९८४ मा रुसले बहिस्कार गर्नु अपेक्षित थियो। यति बेला सोभियत युनियनलाई पूर्वी जर्मनी र क्युबालगायत १४ देशले बहिस्कारमा साथ दिए। तथापि अमेरिकामा सहभागी देशको संख्या १ सय ४० थियो। जसलाई कम्युनिजममाथि पुँजीवादको जितका रूपमा पनि पश्चिमा मुलुकहरूले व्याख्या गरे।


शीतयुद्ध २.०


अमेरिका र रुसबीचको सम्बन्ध सधैँ उतारचढावपूर्ण थियो। १९९१ मा सोभियत युनियनको पतनपछि त्यसको मुख्य उत्तराधिकारी रुसमा बोरिस येल्तसिन राष्ट्रपतिमा निर्वाचित भए। येल्तसिनको शासनकालमा ८ वर्षसम्म दुई महाशक्ति देशबीचको सम्बन्ध सुमधुर रह्यो। तर १९९९ मा भ्लादिमिर पुटिनको उदयसँगै फेरि दुई देशबीचको सम्बन्ध चिसिन थाल्यो। २००८ मा जर्जियामा पृथकतावादी आन्दोलनमा लागेका रुसी भाषीको समर्थनमा पुटिन नेतृत्वले जर्जियामा आक्रमण गर्‍यो। अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरू जर्जियाको पक्षमा उभिए।


दुई वर्षअघि पुटिन सरकारले युक्रेनमा आक्रमण गर्‍यो। जनमत संग्रह गराएर क्राइमियालाई युक्रेनबाट अलग गराउँदै रुसमा गाभ्यो। अमेरिका र अरु पश्चिमा मुलुकलाई त्यसले थप चिढायो। प्रतिक्रियास्वरुप अमेरिका र युरोपियन युनियनले रुसमाथि त्यसयता आर्थिक नाकाबन्दी गरिरहिको छ। अझ सिरियाको गृहयुद्धमा पनि रुसको भूमिका रहेको भन्दै पश्चिमा मुलुकहरूले आरोप लगाएका छन्।


पुटिनको उदयसँगै सुरु भएको शीतयुद्धको अर्को संस्करणले फेरि पनि विश्वलाई दुई ध्रुवमा विभाजित गर्ने क्रम सुरु गरिसकेको छ। जर्जिया, युक्रेन र सिरिया हुँदै यसले फेरि पहिलाजस्तै खेलकुदलाई निशाना बनाउन थालिसकेको छ। अमेरिका र बेलायतको नेतृत्वमा दुई वर्षपछि रुसमा हुने विश्वकप २०१८ को विरोध सुरु भयो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भ्रष्टाचार तथा घुसखोरीका आधारमा रुसलाई विश्वकप आयोजनाको अधिकार दिएको भन्दै सकेसम्म आयोजकका रूपमा रुसको हैसियत नै खोस्ने उद्देश्यसहित युरोपियन युनियन लगायतले चर्को विरोध गरिरहेका छन्।


खेलकुदमा शीतयुद्धको प्रभाव झन झांगिने क्रममा रियो ओलम्पिक र पाराओलम्पिक पनि अछुतो रहेन। इफिमोभाले मुख फोर्नैपर्‍यो, 'यो ओलम्पिक होइन, युद्ध हो। शीतयुद्ध।'


डोपिङ पक्कै पनि खेलकुदमा स्वीकार्न नसकिने अपराध हो। त्यही कारण आइओसीले रुसका १ सयभन्दा बढी खेलाडीलाई रियो ओलम्पिकमा सहभागिताबाट वञ्चित गरेको थियो। तर त्यतिमा पश्चिमा मुलुकहरूको चित्त बुझेन। पूरा रुसलाई रियो ओलम्पिकमा सहभागिता वञ्चित गर्नुपर्ने मागमा टसको मस भएनन्। आफ्ना माग पूरा नभएपछि अर्को महिना सुरु हुने पाराओलम्पिकमा भए पनि रुसलाई प्रतिबन्ध लगाउने अभियानमा लागे।


अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीले सेप्टेम्बरमा हुने पाराओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ। त्यसप्रति रुसी राष्ट्रपति पुटिनको जवाफ छ, 'रुसलाई प्रतिबन्ध लगाउने यो निर्णयमा तर्क र न्यायको कुनै आधार छैन। यो रुसप्रति पूर्वाग्रही भएर गरिएको एउटा तल्लो स्तरको राजनीतिक निर्णय हो।'

-नागरिक दैनिक

Share your thoughts: