पल्सर स्पोर्टस् अवार्डलाई साहस स्पोर्टसको साथ

काठमाडौं । पल्सर स्पोर्टस् अवार्डको लागि साहस स्पोर्ट्सले सहप्रायोजन गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च र साहस स्पोर्टस्बीच आगामी भदौं २६ गते हुने पल्सर स्पोटर््स अवार्डका लागि करिब तीन लाख बराबरको सहयोग गर्ने सम्झौता भएको हो । 

मञ्चले प्रत्येक वर्ष नेपाली खेलकुद जगतमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी, प्रशिक्षक तथा संस्थालाई स्पोर्टस्अवार्डबाट सम्मान गर्दै आएको छ । १४औं संस्करणमा पनि प्रत्येक वर्षझै ८ विधामा स्पोर्ट्स अवार्डबाट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न लागेको हो ।


बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड गरी ८ विधा रहेका छन् । सम्झौताअनुसार साहस स्पोर्टस्ले मनोनयनमा पर्ने प्रत्येक खेलाडी तथा खेलकर्मीलाई ट्याकसुटसहित ३ लाख बराबरको प्रायोजन गर्न लागेको हो । बर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपुल्स च्वाइस र यो बर्षबाट उत्कृष्ट प्रशिक्षक गरी ४ जनाले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै, अन्य विधाका विजेताले ५० हजार नगद प्राप्त गर्ने छन् । 

पिपुल्स च्वाइस अवार्डका लागि यसअघि नै खेलाडीको मनोनयन सार्वजनिक भईसकेको छ । मनोनयनमा फुटबलका सुजल श्रेष्ठ, क्रिकेटका दिपेन्द्रसिंह ऐरी, जुडोकी फुपु ल्हामु खत्री, पौडीकी गौरिका सिंह र एथ्लेटिक्सकी कान्छीमाया कोजु परेका छन् ।

Share your thoughts: