नेपाललाई सहयोग गर्न डब्लुटिएफ र अम होङ गीलबीच सम्झौता

काठमाडौं । नेपालको खेलकुद र शिक्षामा विकासका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) र अम होङ गील फाउन्डेसनबीच सम्झौता भएको छ । दक्षिण कोरियाको सिओलस्थित विश्व तेक्वान्दो महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा डब्लुटिएफका अध्यक्ष  जो चङ वन र फाउन्डेसनका प्रमुख ली जे हुबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजुदूत अर्जुनजंग बहादुर सिंहलगायतको उपस्थिती रहेको थियो ।

 

सम्झौता अनुरुप नेपाल तेक्वान्दो संघको व्यवस्थापन र सहकार्यमा अम होङ गील फाउन्डेसनले नेपालमा विद्यालय निर्माणका साथै भत्किएका विद्यालयलाई पुनर्निर्माण गर्नेछ । उक्त फाउन्डेसनले आफूले निर्माण र पुनर्निर्माण गरेको विद्यालयमा तेक्वान्दो संघसँगको सहकार्यमा तेक्वान्दो प्रशिक्षकसहितको तेक्वान्दो खेल सञ्चालनको कार्यक्रम अगाडि बढाउनेछ ।

फाउन्डेसनको स्थापना विश्व प्रसिद्ध पर्वतारोही अम होङ गीलको नाममा सन् २००८ मा भएको थियो ।  अम होङ गीलले विश्वका ८ हजार मिटरभन्दा माथिको १६ हिमालको आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए । सोही फाउन्डेसनले नेपालका विकेट स्थानमा १२ विद्यालय निर्माण गरिसकेको छ । अब थप २ विद्यालय निर्माण गर्न लागेको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले बताए ।

 सम्झौताको कार्यक्रममा राजदुत सिंहले नेपालका विकट विद्यालयमा तेक्वान्दो खेल सञ्चालन गर्न आफ्नो पक्षबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । फाउन्डेशनका म्यानेजरले डब्लुटिएफसँग मिलेर नेपालका विकट जिल्लाका बिद्यार्थीलाइ तेक्वान्दो शिक्षा दिन सकेकोमा निकै गर्व लागेको बताए ।

Share your thoughts: