एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा नेपालबाट ८ खेलमा १८ खेलाडी

काठमाडौं । तुर्किमिनिस्थानमा आयोजना हुने पाँचौं एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्समा नेपालले आठ खेलमा सहभागिता जनाउने भएको छ । आस्गाबातमा हुने पाँचांै संस्करणको प्रतियोगितामा नेपालबाट ८ खेलबाट १८ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालबाट तेक्वान्दो, चेस, स्वीमिङ, भारोत्तोलन, पुरुष बास्केटबल, मुवाथाई, किक बक्सिङ र गुराँस खेलका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

सेप्टेम्बर १७ देखि २७ सम्म हुने प्रतियोगितामा ४ खेलका खेलाडीहरु भने संघ र आफ्नै खर्चमा जान लागेका हुन् । आफ्नै खर्चमा जाने खेलहरु बास्केटबल, मुवाथाई, किक बक्सिङ र गुराँस खेल रहेको छ । अन्य चार खेल्न भने राष्ट्रिय खेलकुद परिषदको खर्चमा त्यसतर्फ जान लागेका हुन् । प्रतियोगितामा नेपालबाट १८ खेलाडीसहित प्रशिक्षक तथा पदाधिकारी गरी २७ सदस्यीय टोली तुर्किमिनिस्थान जाने छन् ।

प्रतियोगितामा तेक्वान्दोबाट निमा गुरुङ र बिरबहादुर महराले प्रतिस्पर्धा गर्दा चेसमा मोनालिसा खम्बु र मदन कृष्ण कायस्थले प्रतिस्पर्धा गर्नेछन् ।  स्वीमिङबाट ओलम्पियन शिरिष गुरुङ र निहारिका तन्डुकार, मुवा थाईमा नवराज गुरुङ, भारोत्तोलनमा कमला श्रेष्ठ र प्रकाश केसी र गुराँसबाट अस्मिला छन्त्याल, दिपक छन्त्याल र जतान्ती श्रेष्ठ रहेका छन् । त्यस्तै बास्केटबलमा अशिम श्रेष्ठ, विक्रम जोशी, विजय बुर्जा र सौरभ श्रेष्ठ रहेका छन् ।

नेपाली टोलीको प्रशिक्षकहरुमा तेक्वान्दोबाट हरिहर प्रसाद पाण्डे, बास्केटबलबाट दिनेश चन्द्र नकर्मी , भारोत्तोलनबाट जगदीश प्रसाद प्रधान, किक बक्सिङबाट रञ्जन कुमार भुजेल रहँदा चेसको टिम म्यानेजर धाराम बहादुर लामा, गुराँसको प्रतिक्षा खरेल र स्वीमिङबाट मुकुन्द राज शर्मा रहेका छन् ।

 नेपाली टोलीको सेभ दि मिसनमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार बिष्ट रहेका छन् । यस्तै प्रतियोगिताको उद्घाटनको दौरान हुने मार्च पासमा नेपालको नेतृत्व तेक्वान्दोकी निमा गुरुङले गर्नेछिन् ।  प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिहिबार नेपाल ओलम्पिक कमिटीले विदाइ गरेको छ । नेपाली टोलीलाई ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब केशव कुमार बिष्ट लगायतले सुभकामना सहित विदाई गरेका थिए ।

यस्तै प्रतियोगिताको दौरान एसियन ओलम्पिक काउन्सिलको बैठकमा उपस्थिति जनाउन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठसहितको एक टोलि पनि त्यसतर्फ जाने भएको छ । उक्त ओलम्पिक काउन्सिलको बैठकमा नेपालमा तय भएको १३ औं दक्षिण एसियाली खेलकुदबारे छलफल र खेलकुदमा समावेश गराइने खेलहरुको तय हुने ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Share your thoughts: