प्रतिभा मालीलाई बिदाइ

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबलकी सदस्य प्रतिभा मालीलाई बिदाइ गरिएको छ । नेदरल्याण्ड्समा अभ्यास गर्नका लागि जान लागेकी प्रतिभालाई साहस स्पोर्ट्सले बिहीबार एक कार्यक्रम गर्दै बिदाइ गरेको हो ।

साहस स्पोर्ट्सको ब्रान्ड एम्बासडर समेत रहेकी प्रतिभा युरोप अभ्यासका लागि जाने पहिलो नेपाली महिला भलिबल खेलाडी हुन् । ३ साता नेदरल्याण्ड्स अभ्यासमा उनले त्यहाँका राष्ट्रिय टिमसँग प्रशिक्षण गर्नेछिन् । बिदाइ कार्यक्रममा प्रतिभाले प्रशिक्षणको दौरानमा आफूले नयाँ कुराहरू सिक्ने मौका पाउने बताइन् । उनले भनिन्, “राम्रो अभ्यास गर्नेछु । नेपाललाई चिनाउने मेरो हरपल प्रयास हुनेछ । नयाँ अनुभव र स्किल विकासमा टेवा पुग्नेमा विश्वास लिएकी छु ।”

प्रतिभा माली न्यु डायमण्ड एकेडेमीकी भरपर्दा खेलाडी पनि हुन् । न्यु डायमण्डका प्रशिक्षक कुमार राईले प्रतिभाले पाएको अवसरले नेपाली भलिबलमा राम्रो हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा साहस स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपानेले प्रतिभाले आफ्नो प्रतिभालाई झनै निखार्ने विश्वास लिए । साहस स्पोर्ट्सको ब्रान्ड एम्बासडरमा करिब १ महिनाअघि प्रतिभा माली आबद्ध भएकी थिइन् ।


केही महिनाअघि नेदरल्याण्ड्स भलिबल संघका विकास प्रबन्धक पिटर भान तरेल नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमणका दौरानमा पिटर भान तरेल प्रतिभाको खेलबाट मोहित बनेका थिए । उनी नेदरल्याण्ड्स फर्केपछि नेदरल्याण्ड्स भलिबल संघले प्रतिभालाई अभ्यासको लागि बोलाएको हो । प्रतिभा माली नेपाली भलिबलकी सबै भन्दा कान्छी खेलाडी हुन् । उनले १३ बर्षकै उमेर नेपाली महिला भलिबलबाट खेल्न थालेकी हुन् ।

Share your thoughts: