२०७४ मा नेपाली खेलकुद: क्रिकेटमा ऐतिहासिक, फुटबलमा निरासाजनक

काठमाडौं । नेपाली खेलकुदमा केही आशा र केही निरासा छाडेर वर्ष २०७४ हामीबाट बिदा हुँदैछ । वर्षको अन्तिम दिनमा आएर यसअघिका ३६४ दिनलाई फर्किएर हेर्दा कतै खुशी र कतै निरासा देख्न सकिन्छ । क्रिकेटमा यसवर्ष नेपालले ऐतिहासिक सफलता हात पार्‍यो भने फुटबलका लागि वर्ष नै निरासाजनक रह्यो । अन्य खेलकुदमा मिश्रित अवस्था देखियो । वर्षभरी भएका नेपाली खेलकुदका मुख्य गतिविधिलाई संक्षेपमा यहाँ प्रस्तुत गरेका छौंँ ।

क्रिकेटमा ऐतिहासिक सफलता, क्यानको निलम्बन यथावत


नेपाली क्रिकेट टीमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको मान्यता पायो । आईसीवी विश्व क्रिकेट लिग च्याम्पियन्सिपबाट घटुवामा परेर डिभिजन टूमा पुगेको नेपालले सो प्रतियोगिताको शीर्ष २ मा पर्दै विश्वकप छनोटमा स्थान बनाएको थियो । जिम्बाब्वेमा भएको विश्वकप छनोटमा शीर्ष ८ भित्र पर्दै नेपालले इतिहासमै पहिलो पटक एकदिवसीय मान्यता पाएको हो । विश्व क्रिकेटमा यो मान्यता आईसीसीका १२ पूर्ण सदस्य तथा नेपाल, स्कटल्याण्ड, नेदरल्याण्ड र युएईसँग छ ।

यो मान्यताले नेपाललाई थप एक्स्पोजर र बजेट दिलाउने छ । ४ वर्षसम्म एकदिवसीय मान्यता कायम रहँदा नेपालले धेरैभन्दा धेरै सदुपयोग गर्न सक्नुपर्छ । तर नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बित अवस्थामा नै छ ।

यसबीचमा नेपालले आईसीसीकै प्रत्यक्ष निगरानीमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ । क्यनको निलम्बन फुकुवा गर्नका लागि आईसीसीले क्यानलाई अधिवेशन गरेर आफूहरूले भनेअनुसारको विधान पारित गर्न सुझाव दिँदै आएको छ, तर क्यानको अधिवेशन अझैसम्म हुन सकेको छैन ।

आगामी वैशाखमा अधिवेशन हुने बताइएको छ, तर अधिवेशन सम्पन्न नहुँदासम्म यसै भन्न सकिने अवस्था छैन । यदि क्यानको निलम्बन फुकुवा नहुने हो भने नेपाली क्रिकेट टीमले पाएको ऐतिहासिक सफलता र अवसर यत्तिकै खेर जाने चिन्ता छ ।

अर्कोतर्फ नेपाली टीमले एकदिवसीय मान्यता पाएपछि एकदिवसीय स्तरको क्रिकेट रंगशालाको बहस पनि सतहमा आएको छ । नेपालमा हुने अन्तर्राष्ट्रिय खेलहरू कीर्तिपुरस्थित मैदानमा हुँदै आएको छ । यसलाई पनि स्तरोन्नति गर्नुपर्ने अवस्था छ । मुलपानीमा निर्माणाधीन क्रिकेट स्टेडियम अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

यसबीचमा समाजसेवी हास्य कलाकार जोडी धुर्मुस–सुन्तलीले आफ्नो फाउण्डेसन मार्फत क्रिकेट रंगशाला बनाउने उद्घोष गरेका छन् । धुर्मुस रंगशाला निर्माणका लागि जग्गाको खेजीमा छन् । रंगशालाको नाम ‘लर्ड बुद्ध क्रिकेट रंगशाला’ राख्ने तय भए पनि कुन ठाउँमा बनाउने भन्ने निश्चित हुन बाँकी छ ।

घरेलु क्रिकेटमा ईपीएल र डीपीएल

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता हासिल गर्दै गएको अवस्थामा घरेलु क्रिकेटमा पनि गतिविधि बढ्दै गएका छन् । छोटो स्वरूपको क्रिकेटकै लोकप्रिय इण्डियन प्रिमियर लिग (आईपीएल)कै झल्को दिने गरी नेपालमा दुई प्रतियोगिता भए ।

गत पुसमा राजधानीमा एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता (इपीएल) भयो । ६ वटा शहर (काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, भैरहवा र चिवतन) को नामबाट ६ वटा टीम प्रतियोगितामा सहभागी भए । विदेशी खेलाडीहरू समेतलाई सहभागी गराएर भएको प्रतियोगिताको उपाधि पारस खड्का नेतृत्वको विराटनगर वारियर्सले जित्यो ।

यस्तै अर्को प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) चैत महिनामा धनगढीमा भयो । प्रतियोगिताको फाइनल खेल वर्षकै अन्तिम दिन आज (शुक्रबार) हुँदैछ । फाइनलमा काठमाडौं गोल्डेन्स र टीम चौराहा धनगढी भिड्दै छन् ।

क्यान निलम्बित रहेको अवस्थामा सरकारी तबरबाट क्रिकेट गतिविधि शुन्य नै रहे पनि निजी क्षेत्र तथा व्यक्तिगत पहलमा वर्षमा केही उल्लेख गर्न लायक क्रिकेट गतिविधि भए । जसले केही हदसम्म भने पनि घरेलु प्रतिभालाई आफ्नो खेल देखाउने र राष्ट्रिय खेलाडीलाई अभ्यासको मौका दियो ।

आईपीएलमा सन्दीप

नेपाली युवा स्टार सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग आईपीएलमा अनुबन्धित हुने पहिलो खेलाडी बने । सन्दीपलाई २० लाख रुपैयाँ भारुमा दिल्ली डेयरडेभिल्सले आफ्नो टीममा अनुबन्धन गर्‍यो । अहिले सन्दीप आईपीएल खेल्न दिल्लीमा छन् ।

फुटबलमा निरासा

नेपाली फुटबलका लागि वर्ष २०७४ सम्झन लायक रहेन । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत खेलिएका कुनै पनि खेलमा नेपालले जित दर्ता गर्न सकेन । समूह एफमा रहेको नेपालले फिलिपिन्स, यमन र ताजिकिस्तानसँग खेलेको डबल लिगमा फिलिपिन्स र यमनसँग १–१ वटा खेल बराबरी खेल्यो, बाँकी सबै खेलमा पराजति रह्यो । कुल खेलेका ६ खेलमध्ये ४ वटा हार व्योहोरेको नेपाल २ अंकसहित अंकतालिकाको पुछारमा रह्यो । यसमध्ये फिलिपिन्ससँगको एक खेल अघिल्लो वर्ष नै भएको थियो ।

प्रतियोगितामा नेपालले जीत दर्ता नगरेको मात्र होइन, वर्षभरीमा जम्मा २ गोल मात्र गर्न समर्थ रह्यो । नेपालले ताजकिस्तानविरुद्ध १ र यमनविरुद्ध १ गोल गरेको थियो । घरेलु फुटबल लिग ‘ए डिभिजन’ यसपटक पनि हुन सकेन । विभिन्न गोल्डकपले भने घरेलु फुटबललाई केही हदसम्म चलायमान राख्यो ।

भलिबललाई राष्ट्रिय खेलको मान्यता

राष्ट्रिय खेलका विषयमा लामो समयदेखि अन्योलता रहेकोमा सरकारले गत जेठमा भलिबललाई राष्ट्रिय खेल बनाउने निर्णय गर्‍यो । जेठ ८ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठककले भलिबललाई राष्ट्रिय खेल बनाउने निर्णय गरेको हो । खेलकुद मन्त्रालयले पेश गरेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको हो ।

पौडीमा राष्ट्रिय कीर्तिमान सुधार

अनुभव सुब्बा र शुभम श्रेष्ठले हंगेरीको बुढापेस्टमा गत साउनमा भएको १७औं फिना विश्व पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाए । पुरुषतर्फ ५० मिटर बटरफ्लाई २८.२६ सेकेन्डमा पूरा गर्दै अनुभवले राष्ट्रिय कीर्तिमान रचे । उनले सन् २००९ मा काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदको पौडीमा चन्द्रसिंह महतोले बनाएको २८.४३ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

त्यस्तै पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा शुभमले १ मिनेट ११.३४ सेकेन्डको कीर्तिमान बनाए । यसअघि १ मिनेट १२.२५ सेकेन्डको कीर्तिमान ओलम्पियन एलिस श्रेष्ठको नाममा थियो । एलिसले उक्त कीर्तिमान २००४ को एथेन्स ओलम्पिकमा बनाएका थिए ।

मनितालाई जुडोमा एसियाली कास्य

कीर्गिस्तानको बिस्केकमा साउनमा भएको ११औं एसियाली क्याडेट तथा १८औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा मनिता श्रेष्ठ प्रधानले कास्य पदक जितिन् । महिलाको ५७ केजीमुनि समूहमा सहभागी मनिताले भारत, उज्वेकिस्तान र ताजकिस्तानका खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी हुन् । उक्त पदक मनिताको करियरको छैटौं अन्तर्राष्ट्रिय पदक हो । भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले रजत पदक प्राप्त गरेकी थिइन् ।


Share your thoughts: